हेटौँडाका व्यवसायीसँग भ्याटसम्बन्धी अन्तरक्रिया
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार एक दिवशीय भ्याट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि अँन्तरिक राजश्व कार्यालय, हेटौंडाका प्रमुख कर अधिकृत तुलसी प्रसाद भट्टराई रहेका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवाल र आन्तरिक राजश्व कार्यालय, हेटौंडाका कर अधिकृत प्रेम प्रसाद तिम्सिनाको आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई संघका कार्यसमिति सदस्य प्रदिप अर्यालले संयोजन गरेका थिए भने कर अधिकृतद्वय प्रेम प्रसाद तिम्सिना र सुमन आचार्यले सहजिकरण गरेका थिए । कार्यक्रममा मकवानपुर जिल्लाका उद्योगी–व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले आन्तरिक राजश्व कार्यालय, हेटौंडाबाट उद्योगी–व्यवसायीहरुलाई गरिएको पत्राचारले उद्योगी–व्यवसायीहरु केही आतंकित भएको आफूले पाएको र आन्तरिक राजश्व कार्यालय, हेटौंडाबाट नियमको परिपालना गराउने प्रयत्न गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाका प्रमुख तुलसी प्रसाद भट्टराईले भ्याट सम्बन्धी सामान्य प्रावधानको कारण केही उद्योगी–व्यवसायीहरुलाई पछिल्लो समय पत्राचार गरिएको बताए । उनले हरहिसाव ठिकसंग राखेका उद्योगी–व्यवसायीहरुले चिन्ता गर्नु नपर्ने, भ्याटमै गएपनि भ्याट सम्बन्धी जानकारी लिई कारोवार गरेमा समस्या नहुने, पानमा भएका व्यवसायी र भ्याटमा भएका व्यवसायीबीच नाफाघाटाको खासै अन्तर नहुने, पानमा दर्ता हुँदैमा हरहिसाव राख्नु नपर्ने तर भ्याटमा गएपछि राख्नुपर्ने भन्ने आम बुझाइ गलत रहेको, उद्योगी–व्यवसायीहरुलाई आवश्यक्ता परेमा नियमित रुपमा समय मिलाएर प्रशिक्षण गर्न सकिने जस्ता भनाइहरु राखेका थिए ।
कार्यक्रममा सहजिकरण गर्दै कर अधिकृत प्रेम प्रसाद तिम्सिनाले स्थायी लेखा नम्बर, स्थायी लेखा नम्बर लिनुपर्ने कारण, स्थायी लेखा नम्बर लिएपछि पालना गर्नुपर्ने कुराहरु, मदिरा व्यवसायीले पालना गर्नुपर्ने सर्तहरु, करपाटीको प्रकृति र उपयोगिता, डे १, डे २, डे ३ र डे ४ भर्ने प्रयोजन, मूल्य अभिबृद्धि करमा दर्ता, मूल्य अभिबृद्धि करमा कर कट्टी, दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोवारमा प्रयोग हुने बस्तुमा तिरेको वा तिर्नुपर्ने कर कट्टी गर्ने व्यवस्था, कर कट्टी गर्न नपाइने बस्तु तथा सेवाहरु, नोक्सानी भएको बस्तुमा तिरेको कर कट्टी सम्बन्धी व्यवस्था, कर सहभागिता मोडेल, मूल्य अभिबृद्धि कर दर्ता खारेजी, स्थायी लेखा नम्बर स्थगन प्रक्रिया जस्ता विषयहरुमा प्रकाश पारेका थिए ।
छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, महासचिव दिपक उप्रेती, सल्लाहकार महेन्द्र राउत, कार्यसमिति सदस्यहरु तेजराज अधिकारी, सहभागितको तर्फबाट कृषि उपज व्यवसायी हरिसरण अधिकारी, पोल्ट्री व्यवसायी तिर्थराज तिमल्सिना, मनहरीका कपडा व्यवसायी दिपक प्रसाद रिमाललगायतले मन्तव्य राखेका थिए ।











































