नेपाल प्रहरीमा २३ हजार ६७३ जनालाई तालिम प्रदान

लोकखबर
२०८० चैत्र २८, बुधबार ११:५९

मकवानपुर । नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नव नियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र संगठनमा सेवारत प्रहरी कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप र कौशल प्रदान गर्न उन्नत तालिमहरू प्रदान हुने गर्छ । यस्ता तालिमध्ये कतिपय विदेशमा समेत संचालन हुने गर्दछन् । अधिकांश तालिम संगठनभित्रकै विभिन्न तालिम प्रदायक युनिटहरूले संचालन गर्दछन् भने कतिपय संगठन बाहिरका संघ-संस्थासँग समन्वय गरी तालिम दिलाइने गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा नेपाल प्रहरीका जम्मा २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् । जसमध्ये राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट ५ हजार ४२७ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट ९ सय ३८ जना, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट ६ सय ६२ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीबाट ८ सय २२ जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ७ सय ९४ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट ९ सय ७३ जना, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगंजबाट १ हजार १०८ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट ९ सय ९६ जना र घुम्ती प्रशिक्षण तालिमतर्फ ९ हजार ८६७ जना रहेका छन् ।

यसै गरी संघ-संस्थातर्फ १ हजार ७७५ जना र वैदेशिक तालिम ३११ जना रहेका छन् । यस आर्थिक वर्षमा कूल लक्षित संख्या २८ हजार १२४ रहेको छ भने घुम्तीतर्फ ११ हजार ९७० रहेको छ । सो अवधिमा आधारभूत तालिम ३ हजार ४६० जना, व्यवस्थापन तालिम १ हजार २८५ जना, कार्य तालिम १ हजार ८७७ जना, अपराध अनुसन्धान तालिम २ हजार ४७१ जना, सुरक्षा तालिम १ हजार ६०५ र उन्नत प्राविधिक तथा अन्य गरी १ हजार २२ जनाले तालिम हासिल गरेका छन् ।

नेपाल प्रहरीले तालिमको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको ज्ञान सीपको विकास गर्ने र कार्य क्षमता अभिवृद्धि गराउन यस्ता तालिम प्रदान गर्ने गर्छ । संगठनका सदस्यहरूलाई समान अवसर जुट्ने गरी तालिमको व्यवस्था हुने गर्छ । चालु आर्थिक वर्षको उक्त अवधिमा स्वदेशका विभिन्न संघ-संस्थाबाट जम्मा १ हजार ७७५ जना प्रहरी कर्मचारीले तालिम हासिल गरेका छन् । जस मध्ये प्रहरी अतिरिक्त महानिरीक्षक १ जना, प्रहरी नायव महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १६ जना, प्रहरी उपरीक्षक २१ जना, प्रहरी नायव उपरीक्षक ८१ जना, प्रहरी निरीक्षक २६५ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक १५४ जना, प्रहरी नायव निरीक्षक १४४ जना, प्रहरी सहायक निरीक्षक ३०५ जना, प्रहरी वरिष्ठ हवल्दार ६७ जना, प्रहरी हवल्दार १७० जना, प्रहरी सहायक हवल्दार १७७ जना र प्रहरी जवान ३७३ जना रहेका छन् ।

प्रहरी कर्मचारीहरूलाई तालिममा छनौट तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखाबाट हुने गर्छ । नेपाल प्रहरीले अन्य देशका प्रहरी संगठन तथा तालिम प्रदायक संस्थाबाट तालिम प्राप्त हुने गरेको छ । यसबाट सम्बन्धित देशको तालिम प्रणाली, ज्ञान, सीप र अनुभवबारे जानकारी हुने गरेको छ । नेपाल प्रहरी शुरूदेखि हालसम्म वैदेशिक तालिमतर्फ जम्मा ६९ देशमा गरी ४ हजार ५२० वटा तालिममा सहभागी भएको छ । ती तालिममा शुरूदेखि हालसम्मका प्रहरी महानिरीक्षक ३४ पटक, प्रहरी अतिरिक्त महानिरीक्षक १०५ पटक, प्रहरी नायव महानिरीक्षक २७७ पटक, प्रहरी वरिष्ठ उपरीक्षक ४१० पटक, प्रहरी उपरीक्षक ५७६ पटक, प्रहरी नायव उपरीक्षक ९०३ पटक, प्रहरी निरीक्षक १ हजार २८२ पटक, प्रहरी वरिष्ठ नायव निरीक्षक १५ पटक, प्रहरी नायव निरीक्षक ५६२ पटक, प्रहरी सहायक निरीक्षक २७० पटक, प्रहरी हवल्दार ३२ पटक र प्रहरी जवान ५४ पटक सहभागी भएका छन् ।

प्रहरी संगठनको मूल्य, मान्यता र अनुशासनलाई कायम राख्दै जनअपेक्षा अनुसार सेवा उपलब्ध गराउन सक्ने दक्ष, सक्षम, सु-प्रशिक्षित एवम् सेवामुखी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी सक्रिय छ । प्रशिक्षणको दौरानमा नियमित अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रशिक्षार्थीहरूको व्यक्तिगत क्षमतालाई प्रस्फुटन गराई नेतृत्व क्षमताको विकास गर्न उद्देश्यसहित तालिम प्रदान गर्ने गरिएको छ । यसका लागि निरन्तर उच्च गुणस्तरीय प्रहरी प्रशिक्षण प्रदान हुने गर्छ ।

तालिम केन्द्रहरूले ज्ञान, कर्म, कौशलको मान्यता अनुसार प्रशिक्षण प्रदान गर्ने गर्दछन् । सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका सबै प्रहरी कार्यमा सैद्धान्तिक, व्यवसायिक एवम् पेशागत कौशलता अभिवृद्धिको लागि ध्यान दिइन्छ । जिम्मेवारी बोधसहित कुशल र निपूर्ण जनशक्तिको विकास हुनसके कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम हुने विश्वास छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको