बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना

लोकखबर
२०८१ बैशाख १, शनिबार ०७:०२

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेशबासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको लागि शुभकामना गरेका हुन् ।
प्रमुख शर्माले नयाँ वर्षलाई नवीन अवसर र सम्भावनाहरुको पहिचान गर्दै स्वागत गर्न सक्नुपर्ने बताएका छन् । ‘एउटा साल सकिएर अर्को सुरुवात हुनुमात्र नयाँ वर्ष होइन । नयाँ वर्षको आगमनसँगै हाम्रा भित्तामा झुन्डिएको भित्तेपात्रो फरिनु मात्र पनि नयाँ साल आएको रुपमा बुझ्न सकिन्न ।’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘ नवीन अवसर र सम्भावनाहरु पहिचान गर्दै हामीभित्र रहेका निराशालाई चिर्ने सुखद् दिनका रुपमा नयाँ सालको स्वागत गर्न सक्नुपर्छ ।’
प्रमुखको सन्देशमा स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी विदेशिने बाध्यताको अत्य गर्न, नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा,स्वास्थ्य,कृषि र वातावरण संरक्षणजस्ता विषयलाई उच्च प्राथमिकतामा राख्ने नीति निर्माण गर्दैै तीनै तहका सरकार योजनाबद्ध रुपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्ने दिन, यो नयाँ वर्ष बन्न सकोस् भनिएको छ । नयाँ वर्षसँगै अझ संविधानको पूर्ण कार्यान्वयन,राजनीतिक स्थायित्व, दिगो शान्ति तथा सुढृढ राष्ट्रिय एकता र समृद्धि हासिल गने दिशामा सम्बन्धित पक्षहरुलाई सफलता मिलोस् भन्ने कामना प्रमुख शर्माको छ ।
गएको सालको बिदाई र नयाँ साललाई स्वागत गरिरहँदा विगतको अनुभव र सिकाईलाई हामीले सदैव आत्मसात् गर्नुपर्ने उहाँको भनाई छ । देशका सबै पक्षबीच आपसी मेलमिलाप, सद्भाव एवम् सहिष्णुतापूर्वक अघि बढेमा पक्कै पनि ‘एकतामा नै बल हुन्छ’ भन्ने भाव पुष्टि हुने प्रमुखको सन्देशमा उल्लेख छ ।
प्रमुख शर्माले नयाँ जोश-जाँगरसहित देश निर्माणको महाअभियानमा एकाकार हुन हामी सबैलाई आजैको दिनले अभिप्रेरित गरोस् भनेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको