संचारकर्मी निरु श्रेष्ठको निधन

लोकखबर
२०८१ बैशाख ७, शुक्रबार १८:३३

मकवानपुर । सुमधुर स्वरका कारण मकवानपुरसहित नेपालभरि नै चर्चामा आएकी संचारकर्मी निरु श्रेष्ठको अल्पायुमै निधन भएको छ। त्रिवि शिक्षण अस्पतालको आइसियुमा एक सातादेखि उपचाररत श्रेष्ठको ४० वर्षको उमेरमा बिहीबार बेलुकी निधन भएको हो।

उनको शुक्रबार विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। सात वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठलाई खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि गत चैत ३० गते अस्पताल भर्ना गरिएको थियो। बिहीबार बेलुकी अचानक अक्सिजन लेभल घटेर श्वासप्रश्वासमा समस्या आएपछि निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

झण्डै दुई दशकअघि चितवन,मकवानपुर र वीरगञ्जका विभिन्न रेडियोमा काम गरेकी श्रेष्ठ पछिल्लो डेढ दशकदेखि रेडियो थाहा संचार नेटवर्कमा युवालक्षित कार्यक्रम निर्माण र संचालन गर्थिन्।

वि.सं.२०६४ सालमा हेटौंडामा स्थापित रेडियो थाहा संचार ९९.६ मेगाहर्जमा सुरुदेखि नै आबद्ध श्रेष्ठ २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा संचार नेटवर्क ९९.४ मेगाहर्जमा ​निरन्तर कार्यक्रम निर्माण र संचालन गर्थिन्। उनका कार्यक्रम युवामाझ लोकप्रिय थिए। श्रेष्ठ नेपाल पत्रकार महासंघ थाहा संचार प्रतिष्ठानकी राष्ट्रिय परिषद् सदस्यसमेत थिइन्।

प्रतिष्ठानका अध्यक्ष मनोज अर्यालले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनले आफूहरू स्तब्ध भएको उल्लेख गरेका छन्। प्रतिष्ठानले श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

मृतक श्रेष्ठका श्रीमान र एक छोरी छिन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको