मकवानपुरका ६ युवकहरु ईटहरीबाट पक्राउ
मकवानपुर । मकवानपुर जिल्लाका ६ जना युवकहरु ईटहरीबाट पक्राउ परेका छन् । झापाका विभिन्न सहकारीबाट ३० लाख १६ हजार रूपैयाँ चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।
उनीहरूले विभिन्न मितिमा १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूविरुद्ध आज जिल्ला अदालत झापाबाट चोरी कसुरमा पाँच दिनको समय लिएर अनुसन्धान थालेको छ ।











































