मकवानपुरबाट चोरीको मोटरसाइकल र मास्टर कि सहित ६ जना पक्राउ
मकवानपुर । चोरीको मोटरसाइकल र मास्टर कि सहित मकवानपुरबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का २० वर्षीय मिलन पाख्रिन र वडा नम्बर १६ का ३० वर्षीय रत्नबहादुर गोले, बकैया गाउँपालिका वडा नम्बर ८ का १९ वर्षीय संजीव भोलन र वडा नम्बर ८ बस्ने ३३ वर्षीय रमेश लोप्चन, इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय सुवाश बोम्जन तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का अशोक स्याङ्तान रहेका छन् ।
उनीहरुको साथबाट फेला परेका मोटरसाईकलहरु विभिन्न मितिमा चोरी भएका थिए । प्रहरीले चोरी भएको मोटरसाईकल खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०९१ जेठ २ गते हेटौँडा १६ स्थितबाट मिलन पाख्रिन र रत्न बहादुर गोलेलाई बा.प्र.०२–०३ प २१९६ नम्बरको नम्बर प्लेट राखेको अवस्थामा चोरीको मोटरसाईकल फेला पारेको थियो । उनीहरुलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल बकैया ८ बस्ने बर्ष संजिव भोलनले बिक्री गरेको भनि बताएकोले प्रहरीले सञ्जीवलाई पनि पक्राउ गरेको थियो ।
खोजतलास गर्ने क्रममा संजिवको साथबाट समेत बागमती प्रदेश ०२–०४१ प ३९०८ नम्बर प्लेट भएको २२० सि.सि.को चोरीको मोटरसाइकल फेला परेको प्रहरीले
जनाएको छ । त्यसलाई अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलहरु बकैया ८ का रमेश लोप्चन र ईन्द्रसरोबर ५ बस्ने सुवाश बोम्जनले दिएको जानकारी प्राप्त भएको थियो ।
साथै संजिवको साथबाट फेला परेको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु हेटौँडा १९ बस्ने अशोक स्याङतानलाई बिक्रि गरेको भनि बताएको र अशोकले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नम्बरको मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखि स्वरुप परिवर्तन गरेको छ भनेर समेत उनीहरुले बताएका थिए ।
यसरी प्रहरीले उनीहरुलाई पक्राउ गरी चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य भई गरिरहेको प्रहरीले जनाएको छ । साथै चोरी भएका अन्य बा.प्र ०२–०३८ प ७५८१ नम्बरको एनएस र बा प्र ०२–०३३ प ६०२० नम्बरको ड्युक मोटरसाईकल समेत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।











































