राक्सिराङका सुमन बाराबाट पक्राउ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय सुमन स्याङ्तानसहित २ जना बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाबाट पक्राउ परेका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर २१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित शनिबार दिउँसो स्याङ्तान र चितवनको राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मानबहादुर वाईवालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा १० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।











































