हेटौँडा र कैलाशका २ युवक पक्राउ
मकवानपुर । बारा र पर्सा जिल्लाबाट मकवानपुरका २ युवकहरु पक्राउ परेका छन् । प्रहरीले लागुऔषधसहित कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई बाराबाट र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ फुर्केचौर बस्ने २४ वर्षीय विशाल थिङलाई पर्साबाट पक्राउ गरेको हो ।
प्रहरीले बाराको निजगढ नगरपालिका–८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मोक्तानलाई शुक्रबार राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र–०३–००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै पर्साको वीरगंज महानगरपालिका १६ रजतजयन्ति चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











































