‘खानेपानीमा अन्तको बजेट काटेर भएपनि काम गरिन्छ’–मूख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा अन्य क्षेत्रको बजेट कतौटी गरेर भएपनि खानेपानीका क्षेत्रमा काम गर्ने बताएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको बागमती प्रदेश स्तरिय क्षमता अभिवृद्धि गोष्ठीको हेटौँडामा उद्घाटन गर्दै उनले खानेपानीका क्षेत्रमा विशेष काम गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भनेको नै खानेपानी रहेको दाबी गरेका छन् । खानेपानीका वहुवर्षिय योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले बजेट बनाउँदा पनि खानेपानीमा प्राथमिकता दिइएको दाबी गरे ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको आयोजना तथा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको सहकार्यमा गोष्ठी भएको हो । खानेपानी उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठ, उद्योग, वाणिज्य तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मन्त्रालयका सचिव इन्द्र देव भट्ट, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख हरिराम पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।











































