जंगली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारीमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन् । बिरामी परेकाहरुको अहिले हेटौँडा अस्पताल र भरतपुरमा उपचार भईरहेको छ ।
जंगलबाट ल्याएको च्याउ खाँदा उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षीया पासाङमाया स्याङ्तान, नाति ७ वर्षीय लासाङ स्याङ्तान, बुद्ध स्याङ्तानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया छोरी आरती स्याङ्तान सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुमध्ये ५ जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि यही असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा मकवानपुरका विभिन्न ठाउँमा ३ जनाको मृत्यु भईसकेको छ ।











































