हेटौँडामा डुबानबाट करिब डेढ सय घर प्रभावित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेसँगै यहाँका करिब डेढ सय घरधुरी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हालसम्म डुबानले १ सय ४१ वटाभन्दा बढी घर प्रभावित भएका छन् ।
हेटौँडाको विशेषगरी वडा नम्बर ५ मा सबैभन्दा बढी डुबानको समस्या देखिएको छ । साथै वडा नम्बर १ र ७ का केही स्थान पनि डुबानमा परेका छन् । शुक्रबार रातिदेखिको वर्षाले राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल, ५ नम्बर वडाको पिप्ले र शान्तिनगर क्षेत्र तथा वडा नम्बर ७ का क्षेत्रहरु डुबानमा परेका हुन् ।
वडा नम्बर ५ का पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेपछि स्थानीय र प्रहरीले डुबान प्रभावितहरुलाई मदत गरेका थिए । त्यस्तै हेटौंडा–५ सिंचाइकुना टोलमा २० घर, ५ नम्बर वडाकै लटिनाथ पल्टिङ क्षेत्रमा १५ घर, ५ नम्बर वडाकै लक्ष्मीनारायण मन्दिर आसपास १७ घर, शान्तिनगर टोलमा १३ घर, सानोपोखरामा ३० घर, दक्षिणकाली टोलमा १५ घर, ढुंगेधारा टोलमा ३० घर र हेटौंडा–७ न्युरेनीमा १ घर गरी जम्मा १ सय ४१ घरधुरी प्रभावित भएको प्रहरीले जनाएको छ ।











































