प्रतिनिधि सभामा बाढी, पहिरो र डुबानका बारेमा ध्यानाकर्षण
मकवानपुर । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुवानबाट भइरहेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उद्धारको कामलाई पहिलो प्राथमिकतामा राखेर राहत र क्षतीपूूर्तीमा ध्यान दिन आग्रह गरेका छन् ।
सांसदहरूले बाढी पहिरोमा वेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले बाढी र पहिरोका कारण देश विभिन्न राजमार्गहरू अवरुद्ध भएको भन्दै समयमा नै सुचारु गर्न माग समेत गरेका छन् ।
सांसदहरुले अविरल वर्षापछि बढेको खोलानालाले काठामाडौं उपत्यका भित्रकै विभिन्न ठाउँहरू डुवानमा परेको भन्दै दैविक प्रकोपमैत्री संरचना निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसदहरूले बाढीका कारण तराईका धेरै स्थानमा कटान र डुवानमा परेको विषयमा ध्यानाकर्षण गराउँदै डुवानमा परेकालाई राहत उपलब्ध गराउन र नदीहरूमा तटबन्धनको व्यवस्थापन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।











































