हेटौंडामा मनाईयो भानुजयन्ती :

साहित्यकारहरुलाई प्रदेश प्रमुख शर्माको आग्रह -ब्रम्हले देखेको कुरा कलमद्वारा लेख्नोस् ।

लोकखबर
२०८१ असार २९, शनिबार १५:१३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार प्रभातफेरी तथा रचनावाचन गरी आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ ।

भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार, शिक्षक, विद्यार्थी पत्रकार लगायतको सहभागितामा हेटौंडाको बसपार्क, बुद्धचोक, सिमा चोक हुदै सोलिड्यारिटी इन्टरनेसनल माविसम्म प्रभातफेरी गरी रचना वाचन गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता थियो ।

प्रमुख अथितिका रुपमा मन्तव्य राख्दै प्रमुख शर्माले भानु जयन्तीलाई प्रदेशमा मनाउनु सुखद् कुरा भएको भन्दै आगामी दिनमा यसलाई जनस्तरसम्म लानुपर्नेमा जोड दिए । देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा उनको जोड छ । कवि, कलाकार र साहित्यकारहरू स्वप्नद्रष्टा भएको भन्दै प्रमुख शर्माले साहित्यमार्फत सुन्दर भविष्य निर्माणका लागि र नयाँ नेपाल निर्माणका लागि भूमिका खेल्न आग्रह गरे । ‘कसैले भनेको छ, सुतेर देखिने सपना वास्तविक सपना हैनन् । वास्तविक सपना त ति सपना हुन्, जसलाई देखेपछि सुत्नै सकिन्न ।’ प्रदेश प्रमुख शर्माले भनेका छन्,‘यसरी देखिने सपनाहरु पटक–पटक देखिसकेपछि तिनीहरु एउटा अठोट, एउटा लक्ष्य र उद्देश्य बन्न थाल्छन् । यसर्थ, साहित्यकर्मीहरू स्वतन्त्र सपना देख्नुस्, हामी सबैलाई अभिप्रेरित गर्नुस् र नयाँ नेपालको सुन्दर भविष्य निर्माण गर्ने मार्गको रेखाङ्कन गर्नुहोस् ।’ ब्रम्हले देखेका कुराहरु कलमद्वारा लेख्नका लागि प्रमुख शर्माले साहित्यकारहरुलाई आग्रह गरे ।

आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा-साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रमुुख शर्माले आज हामीले पढ्ने रामायण र बोल्ने नेपाली भाषा उनकै देन भएको उल्लेख गरे ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भानुभक्त र उनको रचनाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, साहित्यकारहरु रमेशमोहन अधिकारी, श्यामकुमार बानियाँ, देवराज तिवारी, सानु खनाल, माधव पोखरेल, अम्बिका कार्की, किशन पौडेल, रजनी पौडेल, भावना सापकोटा, एक के निधन, रघुनाथ खराल, विनोद सुवेदीलगायतको उपस्थिती थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले भानुका विषयमा आफूले लेखेका रचना वाचन गरेका थिए । सोलिड्यारिटी इन्टरनेसनल माविका विनिता तामाङ, तुलसीमेयर माविका अनुसुया खनाल, बालजागृति माविका सर्जु भण्डारी र आशिका न्यौपानेले भानुका विषयमा आफूले लेखेका रचना वाचन गरेका हुन् ।

समारोहमा कवि मञ्जु खरालले भानु सम्बन्धी कविता वाचन गरेकी थिइन् भने छन्दकवि पुरुषोत्तम आचार्यले रामायणका पाँच श्लोक वाचन गरेका थिए ।

भानु प्रतिष्ठान नेपाल बागमती प्रदेश समितिका संयोजक हयग्रीव आचार्यको अध्यक्षता एवम् सहसंयोजक मसान उपासकको सहजीकरणमा कार्यक्रम भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको