उद्योगी-व्यवसायीको हकहितमा काम गर्नेछुः मेनका श्रेष्ठ
मकवानपुर । हेटौँडाकी मेनका श्रेष्ठ व्यवसायीहरुमाझ नौलो नाम होइन । उनी विगत १२ वर्षदेखि मकवानपुरमा टेलरिङ व्यवसाय गर्दै आएकी छिन् । उनै युवा व्यवसायी मेनकाले मकवानपुर उद्योग वाणीज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।
संघको अघिल्लो कार्यकालमा थोरै मतले उद्योग तर्फको महिला आरक्षण सदस्य पदमा पराजित भएकी उनले उद्योगी व्यवसायीको हकहितमा काम गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको बताउँछिन् । उनी भन्छिन्, ‘यसपटक मलाई सबै व्यवसायीहरुको माया र साथ रहेने अपेक्षा गरेको छु’ । ‘व्यवसायीहरुको हौसला र प्रेरणाले उम्मेदवारी दिएको छु ।’ उनी भन्छिन् ।
नेवारी समुदायको संस्था नेवाः गुठी खलः मकवानपुरको जिल्ला उपाध्यक्षको भूमिकामा रहेकी श्रेष्ठले व्यवसायीका पेशागत सुरक्षा र महिला उद्यमीहरुलाई विशेष तालिम र प्रशिक्षण दिदै महिलालाई उद्यमी बनाउदै आर्थिक समृद्धिमा व्यवसायीलाई जोड्न पहल गर्ने बताउँछिन् । अनिल अग्रवालको टिमबाट उम्मेदवारी दिएकी उनले सबै व्यवसायीलाई अग्रवालको टिमका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् ।
घरबाटै टेलरिङ व्यवसाय सुरुवात गरेकी श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आएकी छिन् । उनले २०६९ सालदेखि जय प्रकृति सिलाई प्रशिक्षण केन्द्र सन्चालन गर्दै आएकी छिन् । मेनकाले महिला समूहसँग मिलेर खोलिएको हेटौंडा गर्मेण्ट उधोगको अध्यक्ष भएर गार्मेण्ट उद्योग सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जना लाई अप्रत्यक्ष रोजगार सृजना गरी आर्थिक विकासमा टेवा दिँदै आएकी छिन् ।
२०७२ देखि उद्योग वाणीज्य संघ मकवानपुरको सदस्याता लिदै उद्योग वाणीज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरिसकेकी उनले विशेष गरी सिटिइभिटीको प्रशिक्षक एवं परीक्षा निरीक्षक भएर काम गर्दै आएकी छिन् । स्काउट लगायत सामाजिक संघसस्थाहरुको नेतृत्व लिएर काम गरेकी मेनका नेपाल उद्योग वाणीज्य महासंघ बागमती प्रदेश महिला समितिको सहसंयोजक रहदा विभिन्न कार्य जिम्मेवारी पूरा गरेकी थिइन् ।











































