हेटौँडामा क्रान्तिकारीको विरोध प्रदर्शन

लोकखबर
२०८१ फाल्गुन ७, बुधबार २२:१४

मकवानपुर । भारतको उडिशा राज्यको कीट विश्व विद्यालयमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्यु र विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गरिएको दमन विरुद्ध हेटौँडामा विरोध गरिएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले बुधबार साँझ विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिव वीरबहादुर घलान ‘ज्वाला’ले भारतमा अध्ययन गर्न गएकी विद्यार्थीको मृत्युको विषयमा छानबिन गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने बताए । उनले विद्यार्थीहरुको शैक्षिक भविष्य सुनिश्चितका लागि आग्रह गरे ।

क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष सुजन सिलवालको अध्यक्षतामा भएको विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समिति अध्यक्ष बुद्धराज अर्यालले भारतको सो विश्व विद्यालयमा अध्ययनरत करिब ५ सय नेपाली विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मा विश्वविध्यालयले लिनुपर्ने र नेपाली विद्यार्थीले राखेका ८ बुँदे माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । विद्यार्थीले राखेका माग सम्बोधन नभएमा कडा आन्दोलन गर्ने उनले बताए ।

कार्यक्रममा प्रकृति लम्साललाई न्याय देउ, नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरियो । सोही क्रममा मृत आत्माको शान्तिको लागि दीप प्रज्ज्वलन समेत गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको