विद्यार्थीलाई शैक्षिक सामग्री
विदुर–विद्यार्थीहरुलाई शिक्षाप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको जिलिङस्थित एक विद्यालयमा शैक्षिक तथा खेलकुदका विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।
वेलकोटगढी नगरपालिका ८ जिलिङस्थित कल्याणीदेवी माविमा आयोजित कार्यक्रममा शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयलाई एक थान अल इन वन प्रिन्टर, भलिवल, फुटवल, नेटलगायतका खेलकुद सामग्रीहरु, साहित्यिक पुस्तकहरु, कक्षा ४ देखि १२ सम्मका गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्र्रीहरु हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेस सङ्गठन विभाग नुवाकोटले शैक्षिक तथा खेलकुदका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, विद्यालयका अध्यक्ष श्यामकुमार पुडासैनी, प्रधानाध्यापक वुद्धि पुडासैनीलगायतले यसवाट विद्यार्थीहरु शैक्षिक गतिविधिमा मद्धत पुगेको वताए ।











































