सवैभन्दा लामो सिन्दुरे जात्रा सकियो

४२ हाते लिंगो ढालेपछि जात्राको समापन
लोकखबर
२०८२ बैशाख १२, शुक्रबार २१:५७

विदुर–नुवाकोटको सवैभन्दा लामो अवधिको जात्रा समापन भएको छ । ४२ हात लामो लिंगो ढालेपछि सिन्दुरे जात्रा विद्यिवत रुपमा समापन भएको हो ।
नुवाकोटको धार्मिक तथा ऐतिहासिक भैरवी मन्दिर पसरमा भैरवी वर्ष बन्धन २०८२ अर्थात् सिन्दुरे जात्राको क्रममा गत चैत २४ गते आइतवार उठाइएको लिङ्गो सवै प्रक्रिया पुरा गरेर ढालेपछि जात्रा सकिएको हो । सो जात्रा नुवाकोटकै लामो अवधिको जात्रा हो ।
नुवाकोटको पांचसय वर्ष पुरानो भैरवी मन्दिर परिसरमा उठाइएको लिङ्गो ढालिएसंगै जात्रासमेत समापन भएको हो । सिन्दुरे जात्राको क्रममा नुवाकोटमा दुई स्थानमा दुई वटा लिंगो उठाउने र ढाल्ने गरिएको द्वारे महेन्द्रकुमार शाहीले बताए ।
नेपाली सेना र स्थानीयवासीले परम्पराअनुसार लिङ्गो ढालेका हुन् । प्रत्येक वर्ष स्थानीयको सक्रियता नेपाली सेनाले यो लिंगो उठाउने र ढाल्ने परम्परा रहेको छ ।
भैरवी मन्दिर नजिकै रहेको बुढी भैरवीमा उठाइएको ४२ हाते लिङ्गो ढालिएसंगै सिन्दुर जात्रा समापन भएको हो । पर्यटकिय तथा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व रहेको नुवाकोटमा लामो समयसम्म मनाइने सिन्दुरे जात्रा सम्पन्न भएको हो ।
नुवाकोटकै प्रमुख धार्मिक जात्राको परिचय पाएको सिन्दुरे जात्रा १५ दिनसम्म चल्दछ । जात्राको पहिलो दिन नारायण देवता शेराबेसीस्थित ब्रम्हायणी मन्दिरमा विशेष कार्यक्रम गरेर सुरु हुन्छ भने अनितम दिन ४२ हात लामो लिंगो ढालेपछि सकिन्छ ।
वैशाख पूर्णिमाको पर्सिपल्ट द्वितियाको दिन भैरवी मन्दिरका धामी–धमिनीलाई सिन्दुर हालेर सो जात्रा मनाइने परम्परा रहेको स्थानीयवासी महेन्द्र श्रेष्ठको भनाई छ । उनका अनुसार वैशाख शुक्ल पूर्णिमाको दिन नुवाकोटस्थित भैरवी मन्दिरको रथ देवीघाटको जालपा देवीको मन्दिरमा पु¥याएपछि भव्यतासाथ प्रारम्भ हुने सिन्दुरे जात्राको मेलामा वैशाख शुक्ल पूर्णिमाका द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर खेलिन्छ ।
चैत्र शुक्ल चतुर्दशीको दिन ऐतिहासिक साततले दरबारसँगै रहेको भैरवी मन्दिरमा गरिने सिन्दुरे जात्राको निम्तो स्वरूप बहिनी भैरवीले त्रिशूली र तादी नदीको संगमस्थल देवघिाटमा रहेको दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको द्वारे महेन्द्रकुमार शाहीको भनाई छ । सिन्दुरे जात्रा पांचसय वर्ष भन्दा पुरानो रहेको वुढापाकाहरु वताउंछन् । दिदी जालपादेवी वहिनी भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुरे जात्रा गरी हर्षबढाइँ स्वरुप मेला गरिएको हो ।
जालपादेवीबाट फर्किएका धामी, धमिनी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर परिसरमा पुगेपछि सरकारी अधिकारीको सहभागितामा सिन्दुरे जात्रा गरिन्छ । सिन्दुरे जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्राउने चलन रहेको छ ।
द्वितीयाको राती धामीले भैरवी परिसरमा रांगा र बोकाको बली चढाउने धार्मिक चलन छ । देवीघाटमा पनि भैरवीका पुजारी धामीले जालपादेवीको मन्दिरमा जिउँदो राँगो, बोका र माछाको भोग दिन्छन् ।
यस जात्राको अवलोकन गर्न काठमाडौ, रसुवा, धादिङ, चितवन, तनहुंलगायत विभिन्न जिल्लावाट हजारौं सर्वसाधारणको सहभागिता रहने गर्दछ । सरकारी कर्मचारीको उपस्थितिमा जात्रा मनाइने गरिन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको