विजेता खेलाडिहरुलाई नगद पुरस्कार
विदुर नपाले ग¥यो सम्मानसहित पुरस्कृत
बिदुर–राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई नुवाकोटको विदुर नगरपालिकाले नगदसहित सम्मानित गरेको छ । पन्चकन्याको घ्याङस्वारामा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक विजेता विदुर नपाका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।

विदुरमा विहीवार आयोजित कार्यक्रममा मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडाध्यक्षहरुलगायतले पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मानित गरेका हुन् । मेयर श्रेष्ठले विदुर नपालाई खेलकुदमार्फत थप चिनाएकोले पदक विजेता खेलाडिहरुलाई सम्मान गरिएको बताए ।
विदुर नपाले आगामी आर्थिक वर्षदेखि उत्कृष्ट खेलाडी उत्पादनको लागि खेलकुद एकेडेमी नीति ल्याउने उनले बताए । दुई साता अगाडि सम्पन्न प्रतियोगिताका विदुर नपाले विभिन्न विद्यागत एथ्लेटिक्सका साथै तेक्वान्दो, कराँते, हाईजम्प, ज्याभलिङ थ्रो र कबड्डीमा गरी कुल १७ स्वर्ण पाँच रजत र १६ कास्य पदक प्राप्त गरेर प्रथम भएको थियो ।

पञ्चकन्या गाउँपालिकाको पर्यटकिय घ्याङस्वाँरामा सम्पन्न उक्त प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै विदुर नपाको खेलकुद टिम प्रथम भएको थियो । १७ स्वर्णमध्ये १२ तेक्वान्दो, एथलेटिक्सबाट तीन र कराँतेबाट दुई स्वर्ण जितेको थियो ।
उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद ५ हजार, रजत पदक विजेता खेलाडीलाई नगद ३ हजार र कास्य पदक थापेका खेलाडीलाई एक हजार पांचसय रुपैया नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । उक्त अवसरमा खेलको विभिन्न बिद्याका प्रशिक्षकसहित नगर खेलकुद विकास समितिका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । 

१४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विदुर नगरपालिकालाई प्रतियोगितामा विजेता बनाउन योगदान दिदै विभिन्न पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद रुपैयाँसहित विदुर नपाका तर्फबाट मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, २ का वडाध्यक्ष दीपक कायस्थ, नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी लगायतले नगद पुरस्कारका साथै सम्मानित गरेका हुन् । विदुर नपाले खेलकुदको विकासका लागि विशेष कार्यक्रमसमेत सन्चालन गरेको छ ।











































