प्रभावकारी रुपमा कार्य सम्पादनमा जोड
विदुर–उत्तरदायी प्रशासन र पारदर्शी रुपमा जनताको सेवालाई प्राथमिकता दिइएको नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजित कार्यक्रममा सरोकारवालाले दावी गरेका छन् । सो गापाका जनप्रतिनिधिहरुले सर्वसाधारण जनताको कार्यलाई पहिलो प्राथमिकता दिएर सेवा दिइएको प्रतिवद्धता जनाएका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई समृद्धिको आधार मानेर कार्य गरिरहेको शिवपुरी गापाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई शेरावगरमा सम्पन्न गरेको छ । आम सर्वसाधारणले राखेका जिज्ञासाहरुको जनप्रतिनिधि तथा सरोकारवालाले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रम शेरावगरस्थित कृषि उपज संकलन केन्द्रमा गरिएको हो । कार्यक्रममा गाउँपालिका अन्तर्गतका कार्यालयहरू, सार्वजनिक सेवासम्बन्धी निकायहरू, विद्यालयहरू र सामुदायिक संस्था लगायत सबै सरोकारवालासँग प्रत्यक्ष संवाद गरिएको थियो ।
शिवपुरी नुवाकोटकै पर्यटकिय स्थल हो । गाउँपालिकाको सेवा, आयोजना, शैक्षिक, स्वास्थ्य, कृषि तथा पूर्वाधारसम्बन्धी गतिविधिबारे जानकारी दिनुका साथै नागरिकको सुझाव, राय र गुनासोलाई संस्थागत रुपमा जवाफ दिएर कार्यक्रमका सम्वन्धमा अन्र्तक्रिया गरिएको शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।
शिवपुरी गापाले उत्तरदायी प्रशासन र पारदर्शी सेवालाई प्राथमिकता दिएको उपाध्यक्ष वीरवहादुर तामाङले वताए । उनले जनताका लागि जनप्रतिनिधि चुनिएका कारण जनतालाई पहिलो प्राथमिकता दिएर अगाडि वढिएको दावी गरे ।
सर्वसाधारणले राखेका जिज्ञासामाथि गापा अध्यक्ष थपलिया, उपाध्यक्ष तामाङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, वडाध्यक्षहरु, सम्वन्धित शाखाका प्रमुख तथा प्रतिनिधिले जवाफ तथा प्रतिक्रिया दिएका थिए ।












































