व्यवसाय दर्ता नगरी सन्चालन

विदुर-वजारमा दैनिक उपभोग्य वस्तुको गुणस्तरियताको सम्वन्धमा गुनासो आएपछि नुवाकोटको तारकेश्वर गाउंपालिकाले वजार अनुगमन गरेको छ । अनुगमनमा मयाद गुज्रेका सामग्रीहरु जफत गरेको छ ।
कतिपय पसल व्यवसाय दर्ता नै नगरी सन्चालन गरेको पाइएको छ । दर्ता गर्न पालिकाले थप सात दिने अन्तिम अल्टिमेटम दिएको छ ।
तारकेश्वर गापा कार्यालय दाङसिङवाट खटिएको टोलीले तारकेश्वर ३ का पसलहरुको छड्के अनुगमन गरेको हो । गुणस्तरहीन खाद्य तथा पेय पदार्थ जफत गरिएको गापा अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिए ।
उनका अनुसार गापामा पसल व्यवसाय ७ दिनभित्र दर्ता गरी गुणस्तर सुधार्न अध्यक्ष थप अन्तिम अल्टिमेटम दिइएको छ । गापा कर्मचारी तथा गाउं प्रहरीको टोलीले पसलहरूको छड्के अनुगमन गरी म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका खाद्य तथा पेय पदार्थ जफत गरेको हो ।
अध्यक्ष अधिकारीले जनतासंग प्रतिकुल हुने यस्ता खाद्य पदार्थको बिक्री वितरण नगर्न विगतमा दिएको निर्देशनलाई पुनः स्मरण गराउँदै तत्कालै यस्ता पदार्थ हटाएर सफा र स्वच्छ वातावणमा गुणस्तरीय खाद्य सामग्रीको मात्रै व्यापार गर्न गापाका सम्पूर्ण पसल व्यवसायीहरूलाई आग्रह गरेका छन् । साथै, सबै पसल व्यवसायलाई तारकेश्वर गापामा सूचीकृत गरेर मात्रै सञ्चालन गर्न र ग्राहकले स्पष्ट रूपमा देख्ने गरी सामानहरूको मूल्यसूची राख्न समेत उनले निर्देशन दिएका छन् ।
अध्यक्ष अधिकारीले स्थानीय सरकारको निर्देशनलाई अटेर गरी गुणस्तरहिन अखाद्य पदार्थ बेच्ने र जनस्वास्थ्यमा खेलवाड गर्ने कार्य कुनै हालतमा पनि स्वीकार्य नहुने जनाउंदै अन्तिम पटक दिइएको ७ दिने थप अल्टिमेटमको समयभित्र नसुध्रिए तत्कालै पसल तालावन्दी गरी कानुन अनुसार कारबाही अगाडि बढाउने चेतावनीसमेत दिएका छन् । पर्यटकिय तारकेश्वरमा ६ वडा रहेको छ भने सवै वडामा पुगेर अनुगमन गरिने गापा कार्यालय दाङसिङले जनाएको छ ।