ककनीमा राष्ट्रिय परिचय पत्र शिविर

बिदुर–वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको ककनीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन शिविर सन्चालन गरिएको छ । यसवाट सदरमुकाम विदुरसम्म जान नसकेका पुर्वी भेगका अशक्त, वृद्धवृद्धा तथा विरामीहरुलाई निकै सुविधा पुगेको छ ।
ककनी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वय र राष्ट्रिय परिचयपत्र तथा केन्द्रीय पन्जिकरण विभागको प्राविधिक सहयोगमा ककनीको चतुराले, पुतलीचौतारा, हिले, भोटथानसिङ, ढोकाभन्याङमा रहेको वडा कार्यालयमा प्राविधिक र कर्मचारीमार्फत राष्ट्रिय परिचयपत्र शिविर सम्पन्न भएको हो । यसवाट गाउंमै राष्ट्रिय परिचयपत्र शिविर गरिदा सामाजिक सुरक्षा वापतको भत्ता तथा अन्य कार्यका लागि सहज भएको छ ।
विशेष गरि ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई प्राथमिकता दिएर ककनी गापाको वडा २, ३, ५, ७ र ८ मा राष्ट्रिय परिचयपत्र शिविर सम्पन्न गरिएको हो । यसवाट सदरमुकाम पुग्न नसक्नेहरुका लागि शिविरमै विवरण संकलन गरिएको छ ।
ककनी गापा २ को हिले ३ को ढोकाभन्याङ, ५ को भोट थानसिङ, ७ को चतुराले र ककनी ८ को पुतलीचौतारोमा शिविर सन्चालन गरिएको हो । ति स्थानहरुमा गरिएको शिविरमा हालसम्म चार सय भन्दा वढिको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको ककनी गापा अध्यक्ष सुमन तामाङ सज्जनले जानकारी दिए ।
शिविरमा ६० प्रतिशत वृद्धवृद्धा, अपांगता भएका तथा अशक्त नागरिकहरुको सहभागिता रहेको थियो । यसका साथै हाल सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र नवीकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न उनले आग्रह गरे ।
ककनी गापाले सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न सन्चालित शिविरमा प्राविधिक तथा सेवाग्राहीहरुलाई आवश्यक सहयोग गरेको छ । सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता र यसको नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा अपांगता भएका र ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय विदुरसम्म धाउनु नपरोस् भन्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको ककनी ८ का वडाध्यक्ष शेषमान लामाले वताए ।
उनका अनुसार शिविरवाट सर्वसाधारणले सुविधा पाएका छन् । ककनी गापाका सवै ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई लक्ष्यित गरि राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरिसकिएको गापाकी उपाध्यक्ष मिठुमाया लामाको भनाई छ ।
उनका अनुसार शिविरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले विशेष प्राथमिकता दिइएको थियो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक प्रमाणिकरणबाट मात्र नवीकरण गर्ने कार्य गरिएको छ ।
ककनी गापाको कार्यालय तथा ८ वटै वडा कार्यालयबाट उक्त सेवा प्रदान गरिएको छ ।