कलाकार संघको ३७ औं स्थापना दिवस

–महानायक हमालले भने लगाववाटै मिल्छ सफलता
लोकखबर
२०८२ भाद्र २३, सोमबार १६:२५

बिदुर-नेपाल चलचित्र कलाकार संघको ३७ औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दुई दिनसम्म मनाइएको दिवस अन्र्तगत वृक्षरोपण, चलचित्र अन्र्तक्र्रिया, परिसम्बाद, योगा तथा ध्यान गरिएका छन् ।
संघको ३७ औँ स्थापना दिवसअन्तर्गत चलचित्र विकास बोर्डको हलमा चलचित्रको वर्तमान अवस्था, दर्शक तथा आवस्यकताका सम्वन्धमा विशेष अन्र्तक्रिया तथा परिसंवाद सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख वक्ता तथा महानायक राजेश हमालले आफ्नो ३६ वर्ष लामो निरन्तर चलचित्र यात्राको अनुभव सुनाउंदै निरन्तर लगाव, मेहनत र सहभागिता जरुरी रहेको वताए ।

उनले आमदर्शकहरुको सोच र समयसँगै आउने परिवर्तनलाई स्वीकार गर्नुपर्ने विचार व्यक्त गरे । महानायक हमालले प्रत्येक दशकमा दर्शकको मनोवृत्तिमा परिवर्तन आउने उल्लेख गर्दै, हाल विश्वव्यापी प्रविधिक क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौती र अवसर दुवै सिर्जना गरेकोसमेत बताए ।
आमजनमानसको दृष्टि परेको कुनैपनि क्रिृयाशील ब्यक्ती दृष्टिमा रहन्छ । तर, आम जनमानसको मनमा बसेको ब्यक्ति सधै जीबन्त रहन्छ र लोकप्रियता हासिल गर्दछ हमालले भनाई छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले एक वर्षका वीचमा चलचित्रको उत्थानका लागि विविध कार्यहरु गरिरहेको वताए । उनले वोर्डको हालका योजना र कार्यसमिक्षा प्रस्तुत गर्दै नेपाली चलचित्रलाई उचाइमा पु¥याउन र रोजगारी सिर्जना गर्न महानायक राजेश हमालले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले हमाललाई “महानायक” भन्नेमा कुनै दुईमत नरहेको उल्लेख गर्दै भने, “उनले निर्देशक, निर्माता, कलाकार वा प्राविधिक को भन्ने नसोची लगातार काम गरे, जसले गर्दा धेरै कलाकार तथा प्राविधिकले रोजगारी पाए र संकटको घडीमा समेत चलचित्र क्षेत्रलाई जोगाउन मद्धत भयो ।”
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा विशिष्ट कलाकार मोहन निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । निरौलाले चलचित्र क्षेत्रमा लैङिक समानता, पारिश्रमिक विभेद, हिंसा, चलचित्रमा बिदेशी लगानी, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बिस्तार ,केहि चलचित्रले प्रदर्शनको शो नपाएको विषयहरू लगायत नेपाली चलचित्र र पेशाकर्मिको हिजो, आज र भोलिको अवस्थाबारे वक्ताहरुलाई जिज्ञासा राखेका थिए ।

कार्यक्रमा चलचित्र विश्लेषक तथा निर्देशक डा. घनश्याम खतिवडाले चलचित्रमा भाषाको महत्वबारे विचार व्यक्त गरे । उनले सहकार्यवाटै नेपालको चलचित्र क्षेत्रले सवै विषयको समिश्रण गरेर विदेशमा पनि छुट्टै पहिचान वनाउन सक्नेसमेत वताए ।
सोही कार्यक्रममा नायिका अन्जना बराईलीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफूले कुनै पनि प्रकारको ह्यारेस्मेन्ट नभोगेको अनुभव सुनाउँदै नयाँ महिला कलाकारलाई “डराउनुपर्ने कारण छैन, आत्मविश्वासका साथ अघि बढ्नुपर्छ” भन्ने सन्देश दिइन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र चलिरहेको बेला कलाकारको बोली र व्यवहारले दर्शकमा पर्ने प्रभावबारे सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रमको संयोजकमा सबिन श्रेष्ठ, व्यवस्थापकमा निर्देशक देवेन्द्र पाण्डे तथा कलाकार गोपाल ढकाल ‘छन्दे’ले सञ्चालन गरेका थिए ।

कार्यक्रम आयोजक संघका अध्यक्ष मोहन निरौलाले संघ सदैव चलचित्र क्षेत्रको उत्थान र विकासमा सहकार्यका लागि तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द लगायत चलचित्र क्षेत्रका अग्रज व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
यसअघि, स्थापना दिवसको पहिलो दिन रबिन्द्र खड्काको संयोजकत्वमा राजधानीको भण्डारखालमा वृक्षरोपण कार्यक्रम गरिएको थियो । स्थापना दिवसको तेस्रो दिन सोमवार वरिष्ठ उपाध्यक्ष शिबहरी बैरागी नेपालको संयोजकत्वमा जीवन बिज्ञान प्रतिस्ठान योगा ध्यान कार्यक्रम सम्पन्न भयो । योग र ध्यान कार्यक्रमको सहजताका लागि सुनील कटुवाल, गोपाल ढकाल र रोशन श्रेष्ठको सक्रियता रहेको थियो ।
दिवसकै अवसरमा महानायक राजेश हमालले पहिलोपटक चलचित्र विकास बोर्डको स्थलगत अवलोकन गरेका छन् । चलचित्र कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा हमालले अध्यक्ष दिनेश डिसीबाट विशेष पुस्तक र हुलाक टिकट उपहारस्वरूप पाएका छन् ।
हमालले बोर्डको अवलोकन गर्दै पछिल्लो एक वर्षको कार्य प्रगतिप्रति प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् । कलाकार संघको वार्षिकोत्सव कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हमाल कार्यक्रमपछि वोर्डका अध्यक्ष दिनेश डिसीको कार्यकक्षसम्म पुगे ।

डिसीले कार्यालयमा स्वागत गर्दै नेपाललाई चलचित्र छायांकनको प्रमुख गन्तव्यका रूपमा चिनाउने विशेष पुस्तक ‘फिल्मीङ ईन नेपाल’ र नेपाली चलचित्रको इतिहास समेटिएको पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ उपहारस्वरूप प्रदान गरे । डीसीले कार्यक्रममा नेपाल सरकारले प्रकाशन गरेको पहिलो नेपाली फिल्म ‘आमा’को पोष्टर अंकित हुलाक टिकट समेत उपहार दिएका थिए ।
उक्त अवसरमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री अन्जना बराइलीसहित अन्य फिल्मकर्मी सहभागी थिए । महानायक हमालले चलचित्र विकास बोर्डले पछिल्लो एक वर्षमा गरेको कार्य प्रगतिप्रति सम्मान प्रकट गर्दै बोर्डलाई धन्यवाद ज्ञापन गरे ।
अध्यक्ष डीसी र अभिनेता हमालले आफ्नो करिअरमा २२ फिल्म र विभिन्नटिभी कार्यक्रममा सँगै काम गरेको अनुभव तथा कुराकानी शेयर गरेका थिए ।


सर्वाधिक रुचाइएको