सात सडकहरुमा राती यातायात सन्चालनमा रोक

– उद्धार टोलीलाई सुरक्षित स्थानमा स्थानान्तरण
लोकखबर
२०८३ आश्विन ८, बिहीबार २१:३४

बिदुर – तीन दिन भारी वर्षात्को पूर्वानुमानसंगै नुवाकोटमा नागरिकलाई सुरक्षित स्थानमा रहन सचेत गराउंदै प्रशासनले विभिन्न सात वटा सडकहरुमा रातीको समयमा यातायात सन्चालनमा रोक लगाएको छ । अनावस्यक यात्रामा रहेका गाडी रोकिनुका साथै काम नपरी लामो यात्रामा ननिस्कन पनि प्रशासनले सूचना जारी गरेको छ ।
पहाडि संरचना रहेको नुवाकोटमा यहि असोज ९ गतेदेखि ११ गते आइतवारसम्म तीन दिन लगातार भारी वर्षा हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आम सर्वसाधारणलाई आग्रह गर्दै विहीवार रातीदेखि असोज ११ गतेसम्म नुवाकोटका मुख्य सडकमार्गहरु राती नौ वजेदेखि भोलिपल्ट विहान ५ वजेसम्म सवै यातायात सन्चालनमा रोक लगाइएको हो ।

प्रशासनले छोटो दुरीको टोखा–छहरे–गंगटे, पासाङल्हामु मार्ग, गल्छी–त्रिशूली–वेत्रावति सडक, चौघडा–बाहुनवेसी–सुर्यगढी–लच्याङ सडक, पिमलटार–दर्शनटार हुंदै कोलोनी जोड्ने सडक, पुष्पलाल मध्यपहाडि लोकमार्गको पाटीभन्ज्याङदेखि सामरीभन्ज्याङ सडक, ढिकुरे–दुप्चेश्वर–घ्याङफेदी सडकमार्गमा रातीको समयमा यातायात सन्चालनमा पूर्ण रुपमा रोक लगाएको हो । नेपाल मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार बनाउँदै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेम्मीले सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमबाट जोगिन नागरिकलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पुर्वानुमान बुलेटिन अनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावनाले निम्त्यान सक्ने बाढी, पहिरो, विपद, जोखिमलाई म्ध्यनजर गर्दै त्रिशूल थ्रि ए र थ्रि वि जलविद्युत आयोजनामा बाढीपछि उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल, आयोजनाका कर्मचारी, विपद उद्धार टोलीलाई सुरक्षित स्थानमा स्थानान्त्तरण गरिसकिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

यात्रु तथा सवारी साधन चालकहरूले मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायवाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न नुवाकोट प्रशासनले अनुरोध गरेको छ । प्रशासनले विशेषगरी नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सुरक्षित स्थानमा सर्न आग्रह गर्दे स्थानान्तरणमा समस्या भए सम्बन्धित स्थानीय तह र नजिकको सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ ।


सर्वाधिक रुचाइएको