बिदुरमा विभिन्न बजार अनुगमन

– मापदण्ड अनुसार व्यवसाय सन्चालन गर्न निर्देशन
लोकखबर
२०८२ मंसिर २९, सोमबार २२:३२

बिदुर– बजारमा गुणस्तरिय उपभोग्य बस्तुको सम्वन्धमा विदुर नगरपालिकाको विभिन्न बजार अनुगमन गरिएको छ । अधिकांश पसललाई मापदण्ड पुरा गरेर व्यवसाय गर्न निर्देशन दिइएको छ । बिदुर नपाले उपभोक्ता हित संरक्षण, खाद्य सुरक्षा सुनिश्चितता तथा बजार व्यवस्थितीकरणका उद्देश्यले विदुर नगरभित्रका विभिन्न व्यवसायिक क्षेत्रको बजार अनुगमन गरेको मेयर राजन श्रेष्ठको भनाई छ ।

उनका अनुसार बिदुर बजार अनुगमन समितिका संयोजक गणेशकुमार नेपालको टोलीले बट्टार, त्रिशूली, कोलोनी, ढुंगे, हावाघरलगायतका स्थानमा रहेको पसल व्यवसायहरुमा स्थलगत अनुगमन गरेको हो । विभिन्न १६ वटा पसल तथा व्यवसाय अनुगमन गरिएको संयोजक गणेशकुमार नेपालको भनाई छ ।

जसमध्ये चारवटा होटेल, सात वटा किराना पसल र पांच वटा हरियो तरकारीको वेर्ना राखिएका पसलहरु अनुगमन गरिएको हो । टोलीले अनुगमनका क्रममा खानेकुरा प्याकिङ् तथा वितरणका लागि नन फुड ग्रेड कागज प्रयोग नगर्न निर्देशन दिनुका साथै आगामी समयमा यस्ता सामग्री प्रयोग भएमा आवश्यक कानूनी कारबाही गरिने चेतावनी दिएको छ । व्यवसायिक स्थलहरूमा तत्काल सरसफाइ गर्न, खाद्य सामग्री भण्डारण र प्रदर्शनी स्थल सफा एवं स्वच्छ राख्न तथा प्रचलित स्वच्छता सम्बन्धि मापदण्डहरू पालना गर्न व्यवसायीहरूलाई सचेत गराइएको उद्योग शाखाका प्रमुख सुदर्शन सेढाइले जानकारी दिए ।

गुणस्तरहीन तेल प्रयोग नगर्न, कलर मिसाएको खाद्य सामग्री बिक्री–वितरण रोक्न र गुणस्तरीय तेल तथा सामग्री मात्र प्रयोग गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको सेढाइले वताए । . स्थानीय हरियोे प्याजको वेर्ना भनी बाहिरीबाट ल्याइएका प्याजको वेर्ना बिक्री गर्ने व्यवसायीलाई उक्त कार्य नगर्न र आगामी दिनमा यस प्रकारको कार्य दोहो¥याएमा कानून अनुसार कारबाही गरिने चेतावनी दिइएको टोलीले जनाएको छ ।


सर्वाधिक रुचाइएको