बाढीले थुपारेका सामग्री उतखनन् नगर्न चेतावनी
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा बाढीले थुपारेका सामग्री नउठाउन आग्रह गरिएको छ । प्रलयकारी बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा बगाएर ल्याई थुपारेका काठ, दाउरा, कवाडीजन्य वस्तु तथाअन्य सामग्रीहरु आपूmखुसी संकलन र ओसारपसार नगर्न विदुर नगरपालिकाले सचेत गराएको हो । बिदुर नपाले विशेष सूचना जारी गर्दै नदी किनारमा थुप्रिएका बाढीजन्य सामग्री उत्खनन, संकलन तथा ढुवानी गर्नुअघि नगरपालिकाको अनुमति लिनुपर्ने जनाएको छ ।

बाढीपछि नदी क्षेत्रमा जम्मा भएका सामग्री अनधिकृत रूपमा उठाउने तथा अन्यत्र लैजाने गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई बिदुर नपा कार्यालयले आग्रह गरेको हो । बिदुर नपा कार्यालयकाअनुसार अनुमति नलिई नदी क्षेत्रमा रहेका सामग्री संकलन गर्ने, उत्खनन् गर्ने वा ओसारपसार गर्ने कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ । यस्ता गतिविधिबारे जानकारी भए आम सर्वसाधारणलाई नगरपालिकालाई सूचित गर्नसमेत आग्रह गरिएको छ ।

बाढीले नदी क्षेत्रमा थुपारेका सामग्रीको व्यवस्थापन तथा संकलन गर्दा सम्बन्धित निकायको अनुमति र कानुनी प्रक्रिया पालना गर्नुपर्ने नगरपालिकाको सूचनाले स्पष्ट पारेको छ । विदुर नपा कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री–निकासी व्यवस्थापन जथाभावी नगर्न सूचित गराएको छ ।












































