अभिभावक दिवसमा सम्मान

– अरुणिमा स्मारिकाको लोकार्पण
लोकखबर
२०८२ फाल्गुन १२, मंगलवार २२:३६

बिदुर– बौद्ध, कुमारीगालस्थित अरुणिमा माविले अभिभावक दिवसको अवसरमा समाजका विविध क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरेको छ । कार्यक्रमकावीच शिक्षाप्रेमीहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेमा प्रतिष्ठानका संरक्षक समेत रहेका शिक्षाप्रेमी एवं समाजसेवी बुद्धिबहादुर थापा (अमिर), शिक्षाविद् एवं नेपाल सरकारका पूर्व सहसचिव विश्वनाथ अर्याल र समाजसेवी शताब्दी पुरुष नारायणप्रसाद लामिछाने रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार हरिप्रसाद शर्मा, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गाना र कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानले विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरेका हुन् । कार्यक्रममा अरुणिमा स्मारिका (अङ्क—८) को लोर्कापण पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नाटक, योग, खेलकुदलगायतका विविध आर्कषक प्रस्तुति देखाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले विद्यार्थीहरूका सिर्जनात्मक क्रियाकलापबाट विद्यालयले उपलब्ध गराएको समय सापेक्ष सैद्धान्तिक एवं व्यवहारिक शिक्षा प्रतिबिम्बित भएको धारणा राखे । सम्मानित व्यक्ति शिक्षाविद् एवं नेपाल सरकारका पूर्व सहसचिव विश्वनाथ अर्यालले विद्यार्थीहरूको दैनिकीको बारेमा अभिभावकहरूले मिहिन चासो राख्नुपर्ने विचार व्यक्त गरे । अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले प्रतिष्ठानको शैक्षिक सफलतामा सरोकारवाला सबैको साथ सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप प्रविधिमैत्री एवं समयसापेक्ष शिक्षा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको सिर्जनात्मक पक्षलाई विद्यालयले उच्च प्राथमिकता दिँदै आएको जानकारी गराए । विद्यालयका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले विद्यालयको शैक्षिक उपलब्धी, प्रशासनिक व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप र विद्यालयले प्रदान गर्दै आएका सुविधाहरुका सम्वन्धमा जानकारी दिए ।


सर्वाधिक रुचाइएको