निर्वाचनको सम्पुर्ण तयारी पुरा
बिदुर– प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोटमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । दुइ वटै निर्वाचन क्षेत्रमा कायम गरिएका मतदान केन्द्रमा मतदानस्थलको निर्माण कार्य पुरा भएको छ । सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले वुधवार वेलुकीसम्म सवै मतदान स्थलको निर्माण पुरा गरेका छन् ।

नुवाकोटका एकसय ३२ मतदान स्थलअन्तर्गत कायम गरिएका एक अस्थायीसहित २ सय ९३ मतदान केन्द्रमा मतदानको लागि बुथहरू तयार भएका छन् । यस पटकको निर्वाचनका लागि आठसय ५२ जना स्वंसेवकसहित एकहजार सातसय ५८ जना कर्मचारी परिचालन गरिएका छन् । कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल िसेना, निर्वाचन प्रहरीसमेत परिचालन भएका छन् ।

नुवाकोटको ५२ मतदान स्थललाई अति संवेदनशील, ५७ लाई संवेदनशील र २३ मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । दुईहजार चारसय सुरक्षाकर्मी परिचालन भएका छन् । ती मतदान स्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई आवश्यकताअनुसार परिचालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । यससंगै नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनका लागि सम्पुर्ण तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक भौतिक व्यवस्थापन सकिएको छ । जिल्ला निर्वाचन अधिकारी होमवहादुर थापामगरका अनुसार मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–वाहिर मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्नेलगायत सम्पूर्ण कामहरु सम्पन भइसकेको छ । मंगलबारदेखि नै नुवाकोटका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगी सकेका थिए ।


























































