ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ
बिदुर – अदालतवाट नुवाकोटमा दोषी ठहर भई सवारी ज्यान सम्बन्धी कसूरमा फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन् । कैद सजायका लागि कारागार चलान गरिएको छ । सवारी ज्यान सम्बन्धी कसूरमा फरार रहेका प्रतिवादी नुवाकोटको तारकेश्वर गाउँपालिका ४ का ३६ वर्षीय कुमार अछामीलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार सवारी ज्यान सम्बन्धी कसूरमा अछामीले दुई वर्ष ६ महिना २६ दिन कैद सजाय भुक्तान गर्न वांकी रहेको छ । पक्राउपछि युवकलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा उनको कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार नुवाकोट चलान गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार अछामी उक्त मुद्दामा दोषी ठहर भएपछि लामो समयदेखि फरार रहेका थिए ।

फरार प्रतिवादी पक्राउसँगै मुद्दाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नुवाकोटमा फरार अभियुक्त पक्राउ अभियान सन्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यसैवीच, लागू औषध ( खैरो हिरोईन) जस्तो देखिने पदार्थसहित नुवाकोटमा ५ जना युवक पक्राउ परेका छन् ।
नुवाकोटको लिखु गाउँपालिका ६ छहरे बजारमा स्थानीय होटेल रेष्टुरेन्टको कोठामा बसी रहेको अवस्थामा पक्राउ परेकाहरुको साथवाट लागू औषध ( खैरो हिरोईन ) जस्तो देखिने पदार्थ बरामद भई पक्राउ परेका हुँदा अनुसन्धानका लागि लागू औषध सम्बन्धी कसूर मुद्दामा नुवाकोट जिल्ला अदालतबाट ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ परेकाहरुमा रसुवाको उत्तरगया गाउँपालिका ४ का २४ वर्षिय सुवास वाईवा, सोही स्थानका २२ वर्षिय चित्रबहादुर तामाङ, रसुवाकै कालिका गापा ३ का २४ वर्षिय सुमन घर्तिमगर, नुवाकोटको किस्पाङ गापा १ का २७ वर्षिय तुलसिङ तामाङ र बिदुर नपा १० का सुमन तामाङ रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३ दमशलव ६८ ग्राम र डिजिटल तराजु एक थानसमेत वरामद गरिएको छ ।











































