बाढीको कहरकाबीच एकादशी मेलामा हजारौ सहभागी

– गत वर्ष भन्दा वढि तीर्थालु सहभागी
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर ६, शनिबार २३:२६

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा तीन महिना अगाडि उजाडिदिएको नुवाकोटको देवीघाटलगायतका स्थानमा हजारौंले एकैपटक एकादशी मेला भरेका छन् । यस वर्ष गत वर्षको भन्दा धेरै तीर्थालुहरुको सहभागिता रहेको थियो । देवीघाटलगायतका मन्दिर तथा धामहरुमा विहीवार राती महाद्विप प्रज्वलन गरेर शुक्रवार नदीमा विर्सजन गर्नेहरुकोे घुइँचो लागेको थियो । बाढीले सोत्तर पारेको मन्दिरको वगरमा पुगेर श्रद्धालुहरुले आफ्ना दिवंगत पितृहरुको उद्धारको लागि रातभर महाद्विप प्रज्वलन गरेर शुक्रवामर विर्सजन गरेका हुन् ।

प्रलयकारी बाढीले खण्डहर वनाएको देवीघाट, उत्तरगयामा पुर्ननिर्माणको कामनासहित श्रद्धालुहरुले सहभागिता जनाएका हुन् । भक्तजनहरुले आफ्ना दिवंगत पितृको उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीको अवसरमा एकैपटक हजारौंद्वारा महाद्विप प्रज्वलन गरेका हुन् ।
यस वर्षको एकादशी मेलामा गत वर्षको भन्दा धेरै तिर्थालुहरु आएका छन् । बिदुर नगरपालिका ५ देवीघाटस्थित तादी र त्रिशूली नदीको संगमस्थल, उत्तरगयाधाम, तारकेश्वरलगायतका स्थानहरुमा आफ्ना दिवंगत पितृहरूको सम्झना र मोक्षको कामनासहित श्रद्धालु भक्तजनहरूले बत्ती बालेका हुन् ।

देवीघाटस्थित जालपादेवी मन्दिरमा यस वर्ष ६ वटा फुलको डोरी टांगिनुका साथै मन्दिरमा २५ फन्को फुलको माला लगाइएको छ । आफ्ना दिवंगत पितृको उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीको अवसरमा हजारौंद्वारा महाद्विप प्रज्वलन गर्दै एकादशी मेला शुक्रवार सम्पन्न भएको हो । यस वर्षको हरिवोधनी अर्थात् ठुलो एकादशी मेला भर्न नुवाकोटलगायत विभिन्न स्थानवाट आएका तीर्थालुहरु गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत वढेका छन् । यसवर्षको हरिवोधनी एकादशी मेलाको अवसरमा नुवाकोटको देवीघाटको जालपादेवी मन्दिरमा मात्र दशहजार भन्दा वढिले महाद्विप प्रज्वलन गर्नुका साथै आफ्ना दिवंगत पितृको मोक्षको कामना गर्दै द्विप प्रज्वलन गरेको जालपा क्षेत्र विकास समितिका उपाध्यक्ष नवीन चित्रकारले जानकारी दिए ।

उनले मेलामा सहभागी भक्तजनहरुले बाढीको पीडाकावीच पनि आफ्ना दिवंगत पितृहरुको सम्झनामा जालपादेवी मन्दिरको किनारा त्रिशूली नदीमा पुगेर महाद्विप प्रज्वलन गरेको वताए । तीर्थालुहरुले जालपादेवीलगायत विभिन्न स्थानमा पितृमोक्षको कामनासहित हजारांै भक्तजनले रातभर जाग्राम वसेर महाद्विप प्रज्वलन गर्नुका साथै शुक्रवार विहान जालपा देवी मन्दिरमा दर्जनौं फूलको डोली टांगेर जालपादेवीमा तुलसीको पुजाआजा गरेपछि सम्पन्न भएको हो । मेलामा हजारौंले महाद्विप प्रज्वलन गर्नुका साथै जालपादेवी मन्दिरमा ६ वटा फुलको डोरी टांगिएको छ । बाढीको पीडामा पनि भक्तजनहरु सहभागी भई यसवर्ष जालपादेवी मन्दिरमा गत वर्षको भन्दा धेरै फूलको डोरी टांगिएको छ ।

एकादशीको अवसरमा मन्दिरहरुमा पुगेर स्नान, दान र पुजापाठ गरेमा पितृको मोक्ष हुने र जानीनजानी गरिएका पापवाट मुक्ति हुने विस्वासमा भक्तजनहरु आउने गरेको जालपा क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार यस वर्ष सर्वसाधारणले जालपादेवी मन्दिरमा राती पितृ मोक्षको कामनासहित हजारौं महाद्विप र एक हजार द्विप प्रज्वलन गरिएको थियो । जालपादेवी मन्दिरमा एकादशीमा गत वर्ष भन्दा यस वर्र्ष महाद्विप वाल्नेहरुको संख्या धेरै वढेको स्थानीयवासी कृष्णवहादुर कोइरालाले वताए । त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा सदियौं पुरानो प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीका अवरसरमा आफ्ना पितृको उद्धार गर्ने उद्धेश्यले महादीप प्रज्वलन गरेर हजारौंले एकादशी मेला मनाउने गरेको उनले वताए ।

कार्तिक शुक्ल दशमीको राती आफ्ना दिवंगत पितृको मुक्तिका लागी हजारौं भक्तजनले जालपादेवी मन्दिरमा रातभर जाग्राम वसेर द्विप प्रज्वलन गर्ने गरेका छन् । जालपादेवी सम्पुर्ण दिवंगत पितृहरुको स्मृतिमा पुजापाठ गर्ने स्थलको रुपमा प्रख्यात हुंदै गएको छ । आफुले दिवंगत पितृको स्मृतिमा परिवारसहित पुगेर नुवाईधुवाई गरि जालपादेवीमा द्विप प्रज्वलन गर्ने गरेका छन् । रातभर जाग्राम वसेर वालेको द्विपलाई पण्डितद्वारा मन्त्रोच्चरणसहित शुक्रवार विहान त्रिशूली नदीमा सेलाइएको छ ।
धार्मिक सहिष्णुता र हिन्दु धर्मको आस्थाको सम्मान गर्दै जालपादेवी मन्दिरमा पुजापाठमा सर्वसाधारण पुगेका हुन् । हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्षको कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको पुजाअर्चना गर्दै ठुलो एकादशी मनाउने गरेका छन् ।

बर्षभरी पर्ने २४ एकादशमी मध्ये कार्तिक शुक्ल एकादशी सवैभन्दा ठूलो एकादशी भएको कारण आफ्ना दिवंगत पितृको उद्धारका लागी जालपादेवीमा आएर सर्वसाधारणले महाद्विप प्रज्वलन गर्ने परम्परा अनुसार व्रत वसेर सर्वसाधारण जालपादेवी मन्दिर दर्शनका लागि पुग्ने गरेको पुरोहित अनन्तप्रसाद रिजालको भनाई छ । उनका अनुसार जालपादेवी मन्दिर तथा त्रिवेणीमा गत वर्षहरुको जस्तै जिल्लाको विभिन्न स्थानबाट फूलको डोली, छत्रसहित पूजाआजा गरी जालपा मन्दिरबाट त्रिशूली नदी नघ्याएर खड्गभञ्याङमासम्म दर्जनौ तोरण टाङ्ग्ने प्रचलन रहेको छ । आफ्ना दिवंगत पितृको मोक्षको प्रार्थना र जीवनभरी गरेका पापलाई तार्ने जनाउदै जालपादेवी मन्दिर र खड्गभञ्याङको फिर्केप वीचमा रहेको त्रिशूली नदीमाथी जालपादेवी मन्दिरवाट दजैनौं फूलको डोली तारिने परपम्रागत र आकर्षक कार्य हेर्न सर्वसाधारणको वाक्लो सहभागिता रहने गरेको छ ।

मेलामा सहभागि हुन विभिन्न स्थानबाट भक्तजनहरु फूलको डोली, छत्र, तथा मादी लिएर देवीघाटमा उपस्थित भएका थिए । ठूलो एकादशीको अबसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि विशेष मेला सम्पन्न भएको छ । एकादशी मेलाको अवसरमा नुवाकोटको जालपादेवीको साथै तारुकाको तारकेश्वर, पन्चकन्याको कविलास, गेर्खुको वेत्रावति, सुन्दरादेवी, गणेशस्थान, थानसिङ, राउवेशीलगायतका स्थानमा शुक्रवार एकादशीको विशेष मेला सम्पन्न भएको हो । भाकल गर्ने, पुण्य कमाउन तथा परिवारका सदस्य नभएकाहरुले पूजा गरि रातभर महाद्वीप बालेर बिहान महाद्वीप सेलाउने गरेका छन् । एकादशीका अवसरमा व्रत वसेर तुलसीको पुजा गरेर द्वादशी अर्थात शनिवार पुजापाठ पुर्ण हुने परम्परा रहेको छ ।

हजारौं तीर्थालुहरुले पितृप्रति श्रद्धा, भक्ति र आस्थाको अनुपम संगम देवीघाट, बेत्रावतीलगायतका धाममा विहीवार रातभर जाग्राम बसेर शुक्रवार बिहान पवित्र गंगास्नान गरेको र हरिबोधनी ठूलो एकादशी मेलामा सहभागी हुने भक्तजनहरूको घुइँचो लागेको जालपादेवी विकास समितिले जनाएको छ । धर्म, संस्कृति, परम्परा र आस्थाको पवित्र संगम देवघिाट र उत्तरगया बेत्रावतीधाममा बाढीले उजाडिएको अवस्थामासमेत श्रद्धालुहरुले फेरि आस्थाको द्विप प्रज्वलन गरेको समितिका अध्यक्ष भरतकाजी चित्रकारले जानकारी दिए । हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ । नुवाकोटको देवीघाट र गणेशस्थानको माछापोखरीका घाटमा मेला लागेको थियो भने महादेव र देवीका मन्दिर र नारायण मन्दिरमा भक्तजनहरुको भीड लागेको थियो ।

नुवाकोटको देवीघाटस्थित जालपादेवी मन्दिर र त्रिशूली र तादीको दोभान देवीघाट, गणेशस्थान माछापोखरी घाट, समुन्द्रटारको घाट, राउतबेसीको घाट, शिखरवेसीको दुप्चेश्वर मन्दिरको घाट, तारुका घाट लगायतका घाटमा भव्य मेला र फूल तार्ने भक्तजनको भिड लागेको छ । धार्मिक मान्यता अनुसार एकादशीका दिन भगवान विष्णु समुन्द्रबाट उठेर वैकुण्ठधाम जाने जनविश्वास छ । विष्णु भगवानको प्रतीकका रुपमा शनिवार तुलसीको मन्दिरलाई सप्तरंगी टिकाले सिंगारेर तुलसीलाई पूजा (विवाह) गर्ने चलन रहिआएको छ । एकादशीमा अन्नबाली भन्दा फलाहार (फलफूल) खाने चलन छ ।

भक्तजनहरुको उपस्थित वढ्नुले आस्था कहिल्यै मर्दैन, विपत्तिले पनि धर्म, आस्था र विश्वास डगमगाउन सक्दैन भन्ने उदाहरण दिएको स्थानीयवासी राजकुमार गजुरेल वताउंछन् । उनका अनुसार बाढीका कारण यस वर्ष मेलामा भक्तजनको उपस्थिति कम हुने आकलन गरिएको भए पनि भक्तजनको उत्साहजनक सहभागिता भएको थियो । प्राकृतिक विपत्तिले जनजीवनमा ठूलो क्षति पु¥याए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक आस्था र परम्परालाई कमजोर बनाउन नसक्ने स्थानीयवासी तोयानाथ पुडासैनी वताउंछन् ।

भक्तजनहरू आफ्ना दिवंगत पितृहरूको आत्माको चिरशान्ति, वैकुण्ठ बास तथा परिवारको सुख, शान्ति र मनोकामना पूरा होस् भन्ने कामनासहित रातभरि दीप प्रज्वलन गरी भजनकीर्तन र जाग्राम बस्ने गर्दछन् । हरिबोधिनी एकादशीका दिन पवित्र नदीमा स्नान गर्ने, फूलको डोली तार्ने तथा बाबियोको डोरीमा फूल र पात गाँसेर बनाइएको तोरण नदी वारपार गराउने धार्मिक परम्परा रहेको छ । विपत्तिले शरीरलाई दुःख दिन सक्छ । तर, आस्थालाई बगाउन सक्दैन, आस्था अटल र परम्परा जीवन्त रहेको सन्देश दिएको स्थानीयवासी तथा वडा सदस्य विनोद चित्रकारको भनाई छ ।

 


सर्वाधिक रुचाइएको