पसल, गोदाम तथा उद्योगहरुको अनुगमन
बिदुर – दैनिक उपभोग्य सामग्रीहरुको गुणस्तरियता तथा अन्य गुनासोहरु आएपछि नुवाकोटकको बिदुर नगर क्षेत्रमा बजार अनुगमन गरिएको छ । पसल, गोदाम, उद्योगहरुको स्थलगत अनुगमन गरिएको हो । विदुर नगरपालिका अन्तर्गत बिदुर १ ढुंगे र त्रिशूलीबजार, बिदुर २ र ४ को बट्टारवबजार क्षेत्रका विभिन्न पसल, गोदाम तथा उद्योगहरूको छड्के अनुगमन तथा निरीक्षण गरिएको हो ।

पहिलो पटक गल्ती कमीकमजोरी सुधार गर्ने शर्त गरिएको जनाइएको छ । अनुगमनका क्रममा केही पसल, व्यवसायहरू दर्ता नभएको वा दर्ता प्रमाणपत्र उपलव्ध गराउन नसकेको, मूल्य सूची नराखिएको, पसल तथा व्यवसायको साइनबोर्ड नराखिएको, स्पष्ट रूपमा प्रदर्शन नगरिएको तथा खरिद–बिक्री गर्दा बिल–बिजक प्रयोग नगरी कारोबार गरिएको पाइएको हुँदा ती कमी–कमजोरीहरू सुधार गर्न सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन दिइएको विदुर नपा बजार अनुगमन समितिका संयोजक गणेशकुमार नेपालको भनाई छ ।

उनका अनुसार अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायहरूलाई पहिलो पटकका लागि सचेत गराउँदै प्रचलित कानून बमोजिम अनिवार्य रूपमा व्यवसाय दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । मूल्य सूची बोर्ड नराख्ने, साइनबोर्ड स्पष्ट रूपमा प्रदर्शन नगर्ने तथा बिल–बिजक बिना कारोबार गर्ने जस्ता गतिविधिहरू नगर्न कडा निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

फेरी पनि यस प्रकारका कमजोरी दोहोरिएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरिने बिदुर नपाले जनाएको छ । टोलीले ग्यांसको अभाव नगर्नेसमेत सचेत गराएको छ ।



















































