एकसय विद्यार्थीलाई शैक्षिक सामग्री
बिदुर – बिद्यार्थीहरुको शैक्षिक विकासका लागि नुवाकोटका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । झोला, कापी, कलमलगायतका शैक्षिक सामग्रीहरु एकैपटक हस्तान्तरण गरिएको छ ।

शिक्षा र सामाजिक गतिविधिमा क्रियाशील कृष्णप्रसाद पनेरू स्मृति प्रतिष्ठानले आइतवार १० विद्यालयका एकसय जना विद्यार्थीहरुलाई एकैपटक झोला, कापी, कलमलगायतका शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । बिदुर नगरपालिका ५लामिवगैचास्थित चन्द्रज्योती माविमा आयोजित कार्यक्रममा १० विद्यालयका गरिव, जेहेन्दार, आदिवासी जनजाती तथा उत्कृष्ट विद्यार्थीहरु छनौट गरि शैक्षिक सामग्रीहरु प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद पनेरुले जानकारी दिए ।

उनका अनुसार शैक्षिक विकासको उद्धेश्यले उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमकावीच बिदुर नपाकी उपमेयर प्रभा बोगटी, बिदुर– ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, प्रधनाध्यापक बासुदेव पनेरु, प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद पनेरू, शिक्षाविद् प्रा.डा.केशवराज खड्का, काठमाडौ प्याव्सनका उपाध्यक्ष तथा एन्जल हर्ट कलेजका प्रमुख धनवहादुर पुन, कोअर्डिनेटर दीपक आचार्य, शिक्षाप्रेमी प्रशान्तकुमार थापालगायतले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

प्रतिष्ठानकी सदस्य अनु पनेरुको सहयोगमा १० विद्यालयका विभिन्न कक्षाहरुमा अध्ययनरत एकसय जना छात्र/छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यसका साथै एसइई परीक्षा दिई नतिजाको पर्खाइमा रहेका बिद्यार्थीहरुलाइ भावी अध्ययनको सहजीकरणका लागि एक दिने शैक्षिक अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ ।


























































