अभिनय कला प्रशिक्षण

– सहभागीहरुलाई प्रमाणपत्र वितरण
लोकखवर मनोरन्जन संवाददाता
२०८३ बैशाख ३१, बिहीबार २३:१९

बिदुर – कलाकार उत्पादन गर्ने उद्धेश्यले सन्चालित अभिनय कला तालिम प्रदान गरिएको छ । तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । चलचित्र विकास बोर्ड सहकार्य तथा भुजेल चलचित्रकर्मी संघको आयोजनामा पाँच दिने अभिनय कला तालिम सफलतापूर्वक सम्पन्न भएको हो ।

जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको क्षमता विकास, नयाँ कलाकारहरूको सीप अभिवृद्धि तथा समुदायको भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवद्र्धन गर्ने उद्देश्यसहित तालिम प्रदान गरिएको हो । भुजेल चलचित्रकर्मी संघका अध्यक्ष अमृतसिं भुजेलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा भुजेल समाज सेवाका महासचिव हिलारीबन्धु भुजेल, सह–अध्यक्ष रामबहादुर भुजेल, सचिव नेत्रबहादुर भुजेल, भुजेल चलचित्रकर्मी संघकी महासचिव विपना तामाङभुजेल, भुजेल विद्यार्थी मञ्चबाट चन्द्रमणि भुजेल, भुजेल महिला समाज सेवा समितिबाट भक्तकुमारी भुजेल, विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधि गुन्जा चौधरी तथा चलचित्र विकास बोर्डका प्रतिनिधि सम्झना दाहालले चलचित्रको विकास र विस्तारका लागि कलाकारहरुको उत्पादन गर्ने उद्धेश्यले यस प्रकारका प्रशिक्षणहरु निरन्तर गरिनु पर्ने वताए ।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक आरुसजंग मगर, सगुन तामाङ र चन्द्रबहादुर भुजेलले अभिनय कला सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिएका थिए । तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको समावेशी विकास, मातृभाषी चलचित्रको प्रवद्र्धन तथा स्थानीय समुदायमा रहेका प्रतिभालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरूलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।

यस तालिमले भुजेल समुदायका नयाँ कलाकार तथा चलचित्रकर्मीहरूलाई सीप, आत्मविश्वास र सिर्जनात्मक अभ्यासतर्फ थप प्रेरित गर्ने विश्वास लिइएको छ । यसअघि उक्त कार्यक्रमको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरे । उनले चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको समावेशी, सीपमुखी र समुदाय केन्द्रीत विकासका लागि यस प्रकारका प्रशिक्षण तथा सहकार्यका कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्दै आएको वताए ।

मातृभाषी तथा जातीय चलचित्र क्षेत्रको विकासले नेपाली चलचित्रको दायरा अझ फराकिलो, समृद्ध र विविध बनाउने विश्वास बोर्डले लिएको छ । चालु वर्षलाई चलचित्र विकास वोर्डले दक्षता अभिवृद्धि वर्षको रुपमा लिएको छ ।


सर्वाधिक रुचाइएको