दाजुभाई हत्यामा संलग्नहरु पक्राउ

– शव त्रिशूली अस्पतालमा
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख ३१, बिहीबार २३:४९

बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाईको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशूली अस्पतालमा राखिएको छ । म्यागङ गाउँपालिका १ किम्ताङ र वर्सुन्चेतको सिमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाईको शव फेला परेको थियो ।

म्यागङ गापा  १ किम्ताङबेशीमा म्यागङ ४ का किम्ताङका ४३ वर्षिय समराज तामाङ र उनका भाई ३६ वर्षिय सुर्यमान तामाङलाई किम्ताङकै ३६ वर्षिय धनबहादुर तामाङ भन्ने धने तामाङले हत्या गरेका घटनामा धने तामाङसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुरानो रिसइबिको कारण धनेले भरुवा बन्दुकले दाजुभाईमाथि प्रहार गरेर हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर घटनास्थल गई शवको उत्खनन् गर्नुका साथै दुई दिनपछि विहीवार ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

किम्ताङबेशी तोमजोङ खोला स्थितमा ढुङगाको चेपमा पानीको भागमा ढुङगाहरुले चेपिएर राखिएको अवस्थामा समराज तामाङ र सुर्यमान तामाङ दाजुभाइको शव फेला पारी पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाईएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार पहिले उक्त घटनासंग सम्बन्धित ४ जना व्यक्तिहरु नियन्त्रण लिईएको र मुख्य अभियुक्तहरु फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन, तालुक प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा फरार रहेका धनबहादुर तामाङ भन्ने धने तामाङ र माईला भन्ने सोमबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले विहीवार धादिङको खनियाँबास ५ भिरवन बाट पक्राउ गरेको हो ।

उक्त घटनासंग सम्बन्धित मोटरसाईकल एक थान र भरुवा बन्दुक तीन थानसमेत बरामद गरी उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको डिएसपि लामाले वताए । उनका अनुसार नुवाकोटको उक्त किम्ताङ हत्या प्रकरणमा संलग्न रहेको मुख्य दुई जना माथी गहन अनुसन्धान जारी रहेको छ । दाजुभाई हत्याको घटनामा पक्राउ परेका ६ जना मध्ये मुख्य संलग्न भनिएका दुई जना माथीको अनुसन्धान गहन बनाइएको नुवाकोट प्रहरीले जनाएको छ ।

हत्या गरेर शव खोलामा गाडेको अवस्थामा फेला परेको थियो । धने तामाङ र मृतक दाजुभाईवीच निर्माण सम्वन्धि विषयमा विवाद हुँदा उक्त घटना भएकोे म्यागङ गापा ४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए ।

मृतकहरु र पक्राउ परेका धने गाउंमा ठेक्कामा निर्माण सम्वन्धि विभिन्न काम गर्दै आएको स्थानीयवासीले वताए । एकाघरका दाजुभाईको हत्या भएपछि सुर्यमान र समराजको गाउंकै शोकमा डुवेको छ ।


सर्वाधिक रुचाइएको