बैंकले दियो विद्यालयलाई प्रिण्टर
बिदुर – नुवाकोटमा रहेको बैंकले विद्यालयलाई प्रिण्टर प्रदान गरेको छ । यसका साथै एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।लुम्बिनी विकास बैंक लिमिटेड ढिकुरे शाखाले लिखु गाउंपालिका १ स्थित नारायणदेवी माविलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक थान प्रिन्टर प्रदान गरेको हो ।

बैंकले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यहरूलाई सहज बनाउन उक्त प्रिण्टर उपलव्ध गराएको शाखा प्रमुख सुर्यकुमार पण्डितले जानकारी दिए । यसका साथै लुम्बिनी बिकास बैंक लिमिटेड, बट्टार शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिदुर नगरपालिका ९ मा स्थित सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । उक्त कार्यक्रममा सो विद्यालयमा अध्ययनरत ईसीडी कक्षादेखि कक्षा १० सम्मका एकसय एक जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बैंकले शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ विद्यार्थीहरूमा शैक्षिक उत्साह अभिवृद्धि गर्न तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको लुम्बिनी बिकास बैंक बट्टार शाखाका प्रबन्धक अजय आचार्यले जानकारी दिए । कार्यक्रममा बिदुर नपा ९ का वडा अध्यक्ष हरिराम भण्डारीसहित विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समाजसेवी तथां अभिभावकहरू, शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शाखा प्रबन्धक आचार्यले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा बैंकले आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विद्यालय तथा स्थानीय समुदायले बैंकद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

















































