बाढीमा भेटिएका लकरको धनी खोजिदै
बिदुर – लेन्देखोलावाट भोटेकोशी हाुदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले बगाएर नुवाकोटमा ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनीको खोजी कार्य सुरु गरिएको छ । प्रहरीले दुई थान लकरको फोटो सार्वजनिक गर्दै त्यसको वास्तविक धनीको खोजी सुरु गरेको हो । बाढीको फोहोर हटाउने क्रममा नुवाकोटका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुङ्गे, विदुर नपा–३ बुधसिंङघाट रसोही वडाको छत्रेखोला दोभानमा ति सामग्री फेला परेका हुन् । लकर तथा दराज कसको स्वामित्वमा रहेको हो? भन्ने पहिचान हुन नसकेपछि नुवाकोट प्रहरीले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको देखिएको छ ।

उता, नुवाकोटसंगै जोडिएको रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार उक्त लकर दाबी गर्न हालसम्म कोही पनि सम्पर्कमा नआएकाले दावीसहित सम्पर्क गर्न आग्रह गरिएको छ । बाढीका कारण नगद, कागजात, लकर, दराज वा अन्य सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई नजिकको प्रहरी कार्यालयमा निवेदन दिनसमेत प्रहरीले अनुरोध गरेको छ । लकर धनी हालसम्म पहिचान हुन नसकेकाले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।












































