चेपाङवस्तीमा नयां विद्यालय भवन
बिदुर – लामो समयदेखि भवनको अभावमा समस्या परिरहेको नुवाकोटको छिमेकी धादिङको चेपाङवस्तीको एक विद्यालयमा पक्कि भवन निर्माण गरिएको छ । यसवाट पठनपाठनमा निकै सुविधा पुगेको छ । वेनिघाट रोराङ गाउंपालिका ९ एैवाङस्थित बालकण्ड आधारभुत विद्यालयमा पक्कि भवन निर्माण गरिएको छ । दुई वटा नवनिर्मित भवनमा सात कोठा रहेका छन् ।

नवनिर्मित भवनको गाउपालिका अध्यक्ष कृष्णबहादुर थपलिया बिवेकले उद्घाटन गरेका हुन् । उनले भवन निर्माणसंगै विद्यार्थीहरुको शिक्षा सुधारको महत्वपुर्ण अध्याय सुरु भएको वताए । गुणस्तरिय र प्रभावकारी शिक्षाका लागि शिक्षक, कर्मचारी तथा व्यवस्थापन समिति सदैव सक्रिय हुनुपर्ने अध्यक्ष थपलियाले वताए ।

कक्षा ३ सम्म अध्यापन हुंदै आएको सो विद्यालयमा हाल ६५ जना बालवालिकाहरु अध्ययनरत रहेको प्रधानाध्यापक पवित्रा घिमिरेले जानकारी दिइन् । उनका अनुसार सो विद्यालयमा ९५ प्रतिशत चेपाङ समुदायका बालवालिकाहरु अध्ययनरत छन् । कुल ६५ लाख रुपैया लागतमा निर्माण भएको उक्त भवनका लागि वेनिघाट रोराङ गाउंपालिका, बिल्ड अफ नेपाल र किड्स अफ काठमाण्डौंको आर्थिक सहयोगमा निर्माण भएको हो ।






















































