बाढी पीडित तीनसय ५० महिलालाई पोषण सामग्री

– एकसय ५० बालवालिकालाई न्यानो कपडा तथा खेलौना
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक १, शनिबार १९:४२

बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको विभिन्न स्थानमा प्रभावित पारेका गर्भवति तथा स्तनपायी आमाहरुलाई पोषण तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । यसका साथै बाढी पीडित बालवालिकाहरुलाई न्यानो कपडाका साथै खेलौनालगायतका सामग्रीहरु हस्तान्तरण गरिएको छ । प्र्रलयकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पांच स्थानका तीनसय ५० जना गर्भवती तथा स्तनपान गराउने महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो ।

एकसय ५० बालवालिकाहरुलाई जाडोमा न्यानो कपडाका साथै खेलौनालगायतका सामग्रीहरुसमेत हस्तान्तरण गरिएको हो । नुवाकोट र रसुवाका बाढी प्रभावित महिलालाई लक्ष्यित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक विकास केन्द्र (सीडीसी) नेपाल र नेपाल सहायता फाउन्डेसनद्वारा बाढी प्रभावित गर्भवती तथा स्तनपान गराउने महिलालाई पोषण खाद्य सामग्री र बालवालिकाहरुलाई जाडोमा न्यानो कपडाका साथै खेलौनालगायतका सामग्रीहरु वितरण गरिएको सीडीसी नेपालकी अध्यक्ष राधा मताङ्गीले जानकारी दिइन् ।

वडादसैँको अवसरमा आयोजित उक्त सहयोग कार्यक्रमले विपद्पछि कठिन परिस्थितिमा रहेका गर्भवती तथा स्तनपान गराउने आमाहरूको चाडपर्वमा पोषण आवश्यकतामा सहयोग पु¥याउनुका साथै परिवारको दैनिक खाद्यान्न व्यवस्थापनमा केही राहत दिने उद्देश्य रहेको अध्यक्ष मताङ्गीले बताइन् । अध्यक्ष मताङ्गीसहित स.स्थाका पदाधिकारी तथा सहयोगीहरुले इनारपाटी स्वास्थ्य चौकी महारानीडिही, गेर्खु स्वास्थ्य चौकी, बट्टार घण्टाघर स्वास्थ्य केन्द्र, त्रिशूली अस्पताल र वाणाको चौतारो अस्थायी आवासमा वसोवास गरिरहेका गर्भवती तथा स्तनपान गराउने आमाहरूलाई पोषण, सरसफाई तथा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सानो सहयोग, ठूलो माया– मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने मुल लक्ष्यसहित आयोजित कार्यक्रममा नेपाल सहायता फाउन्डेसनले सहयोगी साझेदारका रूपमा आवश्यक सहयोग उपलब्ध गराएको थियो । सीडीसी नेपालले कार्यान्वयन साझेदारका रूपमा स्थानीय समन्वय तथा वितरणको जिम्मेवारी निर्वाह गरेको हो । दुवै संस्थाको संयुक्त प्रयासबाट प्रभावित महिलासम्म पोषण खाद्य प्याकेज पु¥याइएको हो । बाढीका कारण जनजीवन प्रभावित हुँदा गर्भवती तथा स्तनपान गराउने महिलालाई पर्याप्त र पोषणयुक्त खानाको व्यवस्था गर्न थप कठिनाइ हुने गर्दछ ।

यही आवश्यकतालाई ध्यानमा राख्दै यस पहलले आमा र शिशुको स्वास्थ्य तथा पोषणलाई प्राथमिकता दिइएको आयोजक सीडीसी नेपालले जनाएको छ । नेपाल सहायता फाउन्डेसन र सीडीसी नेपालको यस सहकार्यले विपद्पछिको पुनःस्थापनामा मातृ तथा शिशु पोषणको महत्वलाई उजागर गरेको छ । चाडपर्वका बेला उपलब्ध गराइएको यस सहयोगले प्रभावित आमाहरू र उनीहरूका परिवारलाई राहत प्रदान गर्नुका साथै साथ र अपनत्वको अनुभूति दिलाउने उद्देश्य रहेको छ ।

यसका साथै बाढी प्रभावित एकसय ५० जना बालवालिकाहरुलाई न्यानो कपडा, खेलौना तथा चकलेटहरु प्रदान गरिएको छ । सहायता फाउन्डेसन नेपालको आर्थिक सहयोगमा र सीडीसी नेपालको कार्यान्वयन साझेदारका रूपमा गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरूका लागि सञ्चालन भइरहेको उक्त कार्यक्रमलाई अझै प्रभावकारी वनाइने अध्यक्ष राधा मताङ्गीले प्तिवद्धता जनाइन् । उनका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिको समयमा गर्भवती महिला, सुत्केरी आमा, किशोरकिशोरी, बालबालिका र ज्येष्ठ नागरिकहरू अझ बढी जोखिममा परेकाले कठिन समयमा संस्थाले सहयोग गरेको हो ।


सर्वाधिक रुचाइएको