कारागारमै वन्दीहरुले लगाए भाइटिका

– भोजभतेर र देउसीभैलो सामूहिक खेले
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक २६, बुधबार २१:४४

बिदुर– केन्द्रीय कारागार नुवाकोटका कैदीवन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको तिहार पर्व मनाएका छन् । विदुर नगरपालिका ६ खम्पाक्याम्पमा रहेको केन्द्रीय कारागार नुवाकोटमा वन्दी जीवन व्यथित गरिरहेका वन्दीहरुले वुधवार भाइटीका लगाउनुका साथै सामूहिक रुपमा देउसी भैलो खेलेर यस वर्षको तिहार मनाएका हुन् । विभिन्न मुद्धामा कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै आपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ ।

कारागारमा वन्दी जीवन व्यथित गरिरहेकाहरुका दिदीवहिनी आएर भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ । केन्द्रीय कारागारमा रहेका कैदीवन्दीहरुलाई कारागारमै पुगेर वुधवार दिनैभर आफ्ना दिदीवहिनीले भाइटीका लगाइदिएको केन्द्रीय कारागार नुवाकोटका प्रमुख तथा जेलर भेषवहादुर कुंवरले जानकारी दिए ।वन्दीहरुलाई कारागारमै आएर एकसय २० जना दिदीवहिनीहरुले सप्तरंगी भाइटिका लगाइदिएको कुंवरले वताए ।

खम्पाक्याम्पस्थित केन्द्रीय कारागार नुवाकोटमा रहेको वाल सुधार केन्द्रका एकसय ३० जनासमेत आठसय ५२ जना कैदीवन्दीहरु रहेका छन् । उनीहरुले एकआपसमा खुसी साटासाट गर्दै तिहार मनाएका हुन् । कारागारमै आएका दिदीवहिनीसंग भाइटीका लगाएर वन्दीहरुले तिहार पर्व मनाएका हुन् । जेलर कुवरका अनुसार कारागारमा तीन वटा व्लकमा रहेका कैदीवन्दीहरुका लागि त्रिपाल हालेर विहान नौ वजेदेखि भाइटिका लगाउने प्रवन्ध गरिएको थियो ।

वन्दीहरुले दिनैभर टिकाटालो गर्दै खुशीयालीका साथ मिठा÷मिठा परिकारहरु कारागार भित्रै पकाएर बांडीचुडी खांदै र देउसीभैलो खेलेर सामूहिक रुपमा तिहार मनाएको कारागार कार्यालय नुवाकोटले जनाएको छ । वन्दीहरुले आफ्नो सिदा रकमवाट संकलित रकमले मिठामिठा परिकार वनाई भोजभतेरसमेत गरेको जेलर कुवरले वताए । चाडपर्वका बेला वन्दी जीवन विताइरहे पनि कारागार भित्रै तिहार मनाउंन पाउंदा कैदी वन्दीहरु निकै खुशी भएको नुवाकोट कारागार प्रशासनले जनाएको छ ।

कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी वन्दीहरुलाई आफन्तजनसंग टिका लगाउने व्यवस्था मिलाइएका कारण कतिपय कैदीवन्दीका दिदीवहिनीे कारागार परिसरमै आएर कतिपयले साइत तथा कतिपयले साइत भन्दा पछाडिको समय वेलुकी अवेर हुंदासमेत कैदी वन्दीहरुलाई भाइटिका लगाई दिएका हुन् । उता, नुवाकोटको छिमेकी रसुवामा वन्दीहरुले तिहारमा भोजभतेर र देउसीभैलो खेलेर रमाइलो गरे । धुन्चेस्थित जिल्ला कारागारमा रहेका वन्दीहरुले एकआपसमा रमाइलो गरेको कारागार प्रशासनले जनाएको छ ।


सर्वाधिक रुचाइएको