कांग्रेस क्षेत्रिय सभापतिमा घले
बिदुर – नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको नुवाकोटमा विभिन्न अधिवेसनहरु धमाधम भइरहेको छ । जसअन्र्तगत चौघडामा सम्पन्न नुवाकोट–१ को क्षेत्रिय अधिवेसनले नयां नेतृत्व चयन गरेको छ । अधिवेसनले सभापतिमा सुर्यगढीका सन्तबहादुर घलेलाई सर्वसम्मत रुपमा चयन गरेको छ । दुई कार्यकाल सूर्यगढी गाउँपालिकाको अध्यक्ष भइसकेका घले पार्टीको क्षेत्रिय समितिमा क्रियाशील भएका हुन् ।

यसका साथै कांग्रेसको नुवाकोट १ प्रदेश ‘ख’ सभापतिमा गोविन्द गिरी चयन भएका छन् । पार्टीभित्र स्पष्ट विचार, संगठनप्रतिको प्रतिबद्धता र राजनीतिक सक्रियता रहेका घले अधिकांश क्षेत्रिय प्रतिनिधिको निर्विरोध रोजाइमा परेका हुन् । कांग्रेसको नियमित महाधिवेशनको पक्षमा खुलेर उभिएका घले पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक विवाद र दबाबका बीच पनि आफ्नो अडानमा दृढ रहँदै आएका छन् । कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशन अभियानमा लाग्ने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिइरहेका बेला घले भने स्पष्ट राजनीतिक विचारसहित नियमित महाधिवेशन पक्षधरको अभियानमा सक्रिय भएको वताउंछन् ।

घलेको नेतृत्वले नुवाकोटमा नियमित महाधिवेशन पक्षधरको संगठन थप बलियो हुने र पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने जिल्ला संयोजक श्रीराम श्रेष्ठले व्यक्त गरेका छन् । यसैवीच, सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा गोविन्द गिरी सर्वसम्मत चयन भएका हुन् । महाधिवेशन प्रतिनिधिका लागि ३५ जनाको कोटा निर्धारण गरिएको भए पनि ६० जनाभन्दा बढी आकांक्षी देखिएपछि प्रतिनिधि छनोट थप चुनौतीपूर्ण बनेको छ ।

आकांक्षीको संख्या बढी हुनु र सबैलाई मिलाएर लैजानुपर्ने अवस्थाले सहमति जुटाउन कठिन भइरहेको नेताहरूको भनाई छ । नुवाकोट–१ कांग्रेसका नियमित महाधिवेसन पक्षका नेता तथा पुर्वमन्त्री डा. प्रकाशशरण महतको निर्वाचन क्षेत्रसमेत हो । त्यसैले पनि क्षेत्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि छनोटलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।














































