गोंगबु हत्याकान्ड : महिलाले आफ्नै कोठामा बोलाएर हत्या गरेर एम्बुलेन्समा चितवन पुगिन् !

लोकखबर
२७ श्रावण २०७७, मंगलवार १०:१८

मकवानपुर । काठमाडौंको गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान भएसँगै प्रहरीले हत्यारा भेटिएको दाबी गरेको छ । प्रहरीले हत्यामा संग्लन आरोपमा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । महिलाको वास्तविक ठेगाना चितवनको कालिका नगरपालिकामा हो ।

महिलासँगै प्रहरीले एम्बुलेन्स चालकलाई समेत नियन्त्रणमा लिएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार महिला कृष्णबहादुर बोहोराको हत्यापछि एम्बुलेन्समा चितवन पुगेकी थिइन् । उनी चितवन गएको एम्बुलेन्सका चालकलाई पनि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी महिला र मृतकबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु लामो समयदेखि एक अर्कासँग परिचित थिए । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ देखिएको प्रहरी अनुसन्धानपछि खुलेको एक उच्च अधिकारीले जानकारी गराएका छन् ।
मृतक बोहराको परिवार नेपालगन्जमा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

स्रोतका अनुसार शनिबार पनि ती महिलाले आफ्नै कोठामा बोहोरालाई बोलाएकी थिइन् ।

पहिले बेहोस् पारिन् अनी घाँटी रेटिन्

प्रहरी स्रोतका अनुसार शनिबार कृष्ण ती महिलाको कोठामा पुगेका थिए । त्यसक्रममा सुरुमा ती महिलाले कृष्णलाई बेहोस हुने औषधि खुवाएकी थिइन् । कृष्णले ती महिलाकी १४ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ । कृष्णलाई बेहोस् बनाएपछि उनले धारिलो हतियारले घाँटी रेटेको प्रहरी दाबी छ ।

हत्यापछि शव प्याकिङ गरेर फालिएको थियो । त्यसपछि उनी एम्बुलेन्स बोलाएर चितवन गएकी थिइन् । यसबाहेक उनीहरुबीच आर्थिक लेनदेन हुनसक्ने प्रहरी आशंका छ । आइतबार गोंगबुमा सुटकेशभित्र टाउको र खुट्टाबिनाको शव फेला परेको थियो । कुकुरको सहयोगमा प्रहरीले केही दुरीमै टाउको र खुट्टा भएको झोला भेटेको थियो ।

सुरुमा मृतकको पहिचान हुन सकेको थिएन । मृतकको काटिएको टाउको सार्वजनिक भएपछि शवको सनाखत भएको थियो । हत्या गरिएका कृष्णबहादुर बोहरा भएको खुलेको थियो । उनी मित्रनगरस्थित एक गेस्ट हाउसमा बस्दै आएको खुलेको छ । उनी गार्मेन्ट उद्योगमा काम गर्दै आएको खुलेको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*