नेकपाले थाल्यो महाधिवेशन केन्द्रित काम, कार्ययोजना बनाउन संगठन विभागको बैठक जारी
मकवानपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागको बैठक जारी छ । पार्टी मुख्यालय धुम्बाराहीमा मध्याह्न १२ बजेदेखि जारी बैठकमा महाधिवेशन केन्द्रित कार्ययोजना तय हुने एक सदस्यले जानकारी दिए ।
उपाध्यक्ष वामदेव गौतम प्रमुख रहेको संगठन विभागमा सात प्रदेशका इन्चार्जसहित १५ जना सदस्य छन् । बैठकले महाधिवेशनसँग सम्बन्धित एकता, एकीकरण टुङ्ग्याउने, विवाद निरुपण गर्ने, सदस्यताको टुङ्गो लगाउनेलगायत कार्ययोजना तय गर्ने बुझिएको छ ।
स्थायी कमिटी बैठकले असोज महिनाभित्र संगठनात्मक एकीकरणको काम सक्ने निर्णय गरेको थियो । नेकपामा संगठन विभागसहित ३२ वटा विभागले अझै पूर्णता पाउन सकेका छैनन् । अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद् र जनसङ्गठनहरू, प्रवास समन्वय, विशेष जिल्ला कमिटीले पनि पूर्णता पाउन बाँकी छ ।
पार्टी एकताको अढाइ वर्षसम्म पनि नेकपाले सदस्यता टुङ्गो लगाउन सकेको छैन । गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्र सदस्यता नवीकरणको काम सक्ने कार्ययोजना बनाए पनि कोरोनाले रोकिएको थियो ।
संगठन विभागले यसबारे कार्ययोजना बनाउने एक सदस्यको भनाइ छ । कतिपय जिल्ला कमिटीमा देखिएका विवाद, केन्द्रीय सदस्यहरूको जिम्मेवारी पुनरावलोकन लगायतका विषयमा पनि विभागले ठोस योजना बनाउन सक्ने ती सदस्यको भनाइ छ ।
बाह्रखरी डटकमबाट