चिकित्सक संघको चेतावनी– डा. केसीको माग सम्बोधन नगरे कठोर कदम चाल्न बाध्य
मकवानपुर ।नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका माग सम्बोधन नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
“नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द केसीको १९ औं पटकको सत्याग्रहको आज १७ औं दिन भइसक्दा पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका लागि कुनै पहल नगरेकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ,” जारी विज्ञप्तिमा भनिएको छ ।
सरकार आफैँले डा.केसीसँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौताअनुसार उनका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भइसकेको पनि संघले जनाएको छ ।
“सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो । त्यसैले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,” जारी विज्ञप्तिमा भनिएको छ, “हाल विश्वभर महामारीको रुपमा देखा परेको कोभिड–१९ को संक्रमणका कारण नेपालमा आजको मितिसम्म ४९१ जनाले मृत्युवरण गर्नु परेको एवं ७६,२५८ जना संक्रमित भईरहेको विद्यमान अवस्थामा डा. गोविन्द के.सी.को जीबन रक्षाका निम्ती हुन सक्ने कार्यक्रमहरुलाई मध्यनजर राख्दै नेपाल सरकारले यथासिघ्र बार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको नेपाल चिकित्सक संघको ठहर छ । डा. के.सी. को जीवन रक्षाका निम्ती नेपाल चिकित्सक संघले कठोर कदमहरु चाल्ने गम्भिर परिस्थिति सिर्जना नगर्न र यस संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।”
बाह्रखरी डटकमबाट