विराटनगरका अस्पतालमा ३ संक्रमितको मृत्यु

मकवानपुर ।विराटनगरका विभिन्न अस्पतालमा बुधबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकजनाको मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुषको कोभिड अस्पतालमा अपराह्न १२:३५ बजे मृत्यु भएको छ । उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलका अनुसार वृद्धमा श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि आजै ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।
तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार गर्दा-गर्दै उनको मृत्यु भएको बताइएको छ । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ ।
बुधबार बिहान कोसी अस्पतालमै मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।
यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर २ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ । बाह्रखरी डटकमबाट