सरकारले वार्ता टोली नबनाए आकस्मिक र कोभिडबाहेकका सेवा ठप्प पार्छौं : डा. कार्की

लोकखबर
२१ आश्विन २०७७, बुधबार १४:५२

मकवानपुर । सत्याग्रही डा. गोविन्द केसीको कुरा सुनिदिन सरकारलाई पटक-पटक आग्रह गर्दा पनि वास्ता नगरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन् ।

सत्याग्रह सुरु गरेको २४ दिन पुग्दा पनि डा. केसीका मागका विषयमा छलफल गर्न सरकारले एउटा वार्ता समिति बनाउनसमेत नसक्नु विडम्बना भएको उनी बताउँछन् । उनले सरकार डा. केसीका मागमा अझै संवेदनशील नबनेको आरोप पनि लगाए । डा. केसीको जीवन तलमाथि भए त्यसको जिम्मा पनि सरकारले लिनुपर्ने उनले बताए ।

उनले भने, “पटक-पटक सरकारलाई वार्ता समिति बनाइ डा. केसीसँग छलफल गर्न आग्रह गर्दा पनि नसुनेर बसिएको छ । डा. केसीको जीवन तलमाथि भए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ ।” डा. केसीले आफ्नो स्वास्थ्यलाई ख्याल नगरी देश र जनताका लागि सत्याग्रह बसेको उनले बताए । एउटा प्रजातान्त्रिक मुलुकमा सत्याग्रहीले आफ्ना कुरा राख्‍न खोजेका छन् तर सरकारले सुनेको नसुने झैं गर्छ ।

सरकारलाई पटक-पटक ध्यानकर्षण गराउँदा पनि नसुनेपछि संघले आइतबार बेलुकाबाट ७२ घण्टे अल्टिमेटम दिएको थियो । त्यो बुधबार (आज) सकिँदै छ । डा. कार्कीका अनुसार अहिलेको कोरोना महामारीको समय भएकाले हामीले पटक-पटक सरकारलाई वार्ताका लागि अनुरोध गर्‍यौं तर सुनुवाइ भएन ।

आज बेलुकासम्म पनि सरकारले वार्ता समिति बनाएर छलफल नथाले देशैभरका अस्पतालका आकस्मिक र कोभिडबाहेकका सेवा ठप्प बनाउन बाध्य रहने पनि डा. कार्कीले चेतावनी दिए । उनले भने, ‘‘डा. केसी चिकित्सक संघको आजीवन सदस्य हुनुहुन्छ, हाम्रो घरका सदस्यको आँखैअगाडि ज्यान गएको टुलुटुलु हेरेर बस्‍न सक्दैनौं, जस्तोसुकै कदम चाल्न पनि बाध्य हुन्छौं ।”बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*