राजधानीमा दशैं सुरक्षा योजना : नाकामा कुकुरबाट जाँच, प्रत्येक बसमा ‘सिभिल’ प्रहरी

लोकखबर
२१ आश्विन २०७७, बुधबार १५:१५

मकवानपुर । काठमाडौं प्रहरीले दशैं, तिहार र छठसम्मका लागि विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वको समयमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागु गरिएको हो । प्रहरीले विभिन्‍न चाडपर्वका बेला सुरक्षा योजनाहरु लागु गर्दै आएको छ ।

दशैं, तिहार छठलगायत पर्वका लागि उपत्यका छाड्नेको संख्या बढी हुने र यस्तो समयमा चोरी, ठगी, पकेटमारी, लुटपाट, कालोबजारीलगायत अपराधिक क्रियाकलाप बढ्नसक्ने भन्दै सक्रियता बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा तालिमप्राप्त कुकुरबाट जाँच सुरु गरिएको छ । दशैंकै लागि उपत्यका छाड्ने क्रम पनि सुरु भएको छ । यस्तो समयमा यात्रुलाई सहजता प्रदान गर्न बसपार्कलगायत विभिन्‍न स्थानमा यात्रु सहायता कक्ष राखिएको एसएसपी ज्ञवालीले बताए ।

चाडपर्वको समयमा आर्थिक अपराध बढ्नसक्ने भन्दै प्रहरीले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । एसएसपी ज्ञवालीले भने, “यस्तो समयमा पैसा साटिदिनेलगायत विभिन्‍न बहानामा ठगी हुनसक्छ । त्यसैले अपरिचितसँग आर्थिक कारोबार नगर्नुहोस् । आवश्यकताभन्दा बढी नगद बोकेर नहिँड्नुहोस् ।”

बैंक तथा वित्तीय क्षेत्रलाई समेत सुरक्षा निगरानीमा राखेर एटीएम बुथमा समेत सादा पोसाकका प्रहरी परिचालन गरिएको एसएसपी ज्ञवाली बताउँछन् ।

दिउँसो घरबाहिर निस्कँदा घरको गेटमा ताल्चा लगाएर निस्कन र लामो समयसम्मका लागि निस्कन लागेको भए नजिकका छिमेकी वा प्रहरीलाई जानकारी दिनसमेत ज्ञवालीले आग्रह गरे ।

दशैंका लागि उपत्यकाबाट लाखौं मानिस बाहिरिने गर्छन् । तर यो वर्ष अघिल्लो वर्षजस्तो बाहिरिनेको चाप देखिएको छैन । कोभिड-१९ को महामारीपछि सरकारले गरेको लकडाउनकै समयमै लाखौं विद्यार्थीले उपत्यका छाडिसकेका छन् ।

विद्यालय, कलेज नखुलेकाले उनीहरु फर्किएका छैनन् । त्यसैले विगतको जस्तो घर जाने यात्रुको चाप नहुने प्रहरीको बुझाइ छ । तर पछिल्लो केही दिनयता बढी भाडा लिने, जबरजस्ती यात्रुलाई आफ्नो सवारीमा चढ्न लगाउने ३५ जना बढीलाई कारबाही गरिएको एसएसपी ज्ञवालीले बताए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*