कर्णाली प्रदेशका दुवै पक्षसँग प्रधानमन्त्री छलफल गर्दै, प्रचण्ड अनुपस्थित
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्ष रहेको बताइएको छ ।
“अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई छलफलमा बोलाउनुभएको छ । हामी बालुवाटार छौं,” निलम्बित सचेतक शाहले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै छलफलका लागि पार्टी मुख्यालय धुम्बाराही बोलाएका थिए । तर, ओलीले समय नदिएका कारण संयुक्त बैठक बस्न सकेको थिएन ।
बिहीबार र शुक्रबार अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाही र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका यामलाल कँडेलसमूह, दुवै पक्षसँग छलफल गरेका थिए । मुख्यमन्त्री शाही पक्षसँग घटनाक्रममा बारेमा सोधनी गरेका थिए । पार्टी संसदीय दलका १८ जना विपक्षमा खडा हुने परिस्थिति कसरी निर्माण भयो भनेर सोधपुछ गरेका थिए ।
कँडेल पक्षलाई पार्टी केन्द्रसँग छलफल नगरी निर्देशनविपरीत अविश्वासको प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रचण्डले दुवै पक्षसँग कुराकानी गरिसकेकाले आज बालुवाटार नगएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
“अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर कुरा गरिसक्नुभएको छ । आज तपाईंमात्रै छलफल गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभएको छ । प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बस्नुहुन्छ,” उनले भने ।
दलको निर्देशनविपरीत सरकार सञ्चालन गरेको र विश्वास कायम राख्न नकसेको भन्दै कँडेलसहित १८ जना सांसदले आइतबार दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीको राजनीति तरङ्गित बन्न पुगेको छ ।
मङ्गलबार दुई अध्यक्ष बैठक बसेर दुवै पक्षलाई पत्र काटेर वार्ताका लागि मुख्यालय बोलाएका थिए ।बाह्रखरी डटकमबाट