गर्भवती, बालबालिका, जेष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घरमै बस्न स्वास्थ्य मन्त्रालयको अनुरोध
मकवानपुर ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भाग तिव्र रुपमा कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि जोखिममा रहेका व्यक्तिलाई घरबाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको हो।
कोरोनाको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अत्यावश्यक बाहेक गर्भवती, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई बाहिर ननिस्कन आग्रह गरेको हुन्। यी व्यक्तिहरुलाई कोरोना संक्रमणको उच्च जोखिममा हुने भन्दै घर भित्रै बस्न मन्त्रालयको आग्रह छ।
अस्पतालहरुमा आइसियु भरिदै गएकाले स्वास्थ्यको ख्याल गर्न प्रवक्ता गौतमले आग्रह गरे। परिवारका अन्य सदस्यहरु पनि उनीहरुको कम सम्पर्कमा रहन मन्त्रालयले सबैलाई अपिल गरेको छ।
‘६० वर्ष माथिका, गर्भवती, बालबालिका, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक कम भएका व्यक्तिहरु घरबाट बाहिर ननिस्कन आग्रह छ,’ प्रवक्ता गौतमले भने,‘संक्रमणको जोखिम बढ्दै गएको, अस्पतालको बेडहरु खचाखच भरिदै गएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न मन्त्रालयको अनुरोध छ।’ स्वास्थ्य खबर डटकमबाट