पूर्वमन्त्री यादवको निधन
मकवानपुर । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ ।
महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा गएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्काघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए ।
यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए ।
प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहेका थिए ।
यादवका एक छोरा र एक छोरी छन् ।खबरहब डटकमबाट