सरकारले नागरिकलाई आफ्नो उपचार आफैं गर भन्‍नु अनुचित : नेता नेपाल

लोकखबर
४ कार्तिक २०७७, मंगलवार १३:२२

मकवानपुर ।नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले नागरिकलाई आफ्नो उपचार आफैं गर भन्नु अनुचित भएको बताएका छन् । सरकारले देशभरिका अस्पताललाई कात्तिक २ पछि भर्ना भएका बिरामीमध्ये तोकिएबाहेकको शुल्क लिनू भनेर निर्देशन दिएपछि नेपालको यस्तो प्रतिक्रिया आएको हो ।

आज विज्ञप्ति जारी गर्दै नेता नेपालले संकटमा राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा यस्तो निर्णय हुनु अनुचित भएको बताएका छन् ।

“मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरूको संख्या दिनदिनै बढिरहेका बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्न निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले विज्ञप्तिमा भनेका छन्, “सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् । संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ ।”

यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने उनको ठहर छ । त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्‍न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय भएको उनले बताएका छन् ।

“संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आमनागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु,” उनले आग्रह गरेका छन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*