कोरोना बिरामी बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

लोकखबर
४ कार्तिक २०७७, मंगलवार १४:५१

मकवानपुर ।वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षमा भएको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

मकवानपुरबाट काठमाडौँ बिरामी लिएर जाने चालकलाई थप रु एक हजार र चितवन जाने चालकलाई थप रु ५०० साविकको भाडा दरमा थप गरी लिनेसक्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

सो थप गरिएको प्रोत्साहनबापतको रकम कोभिडका बिरामी बोकेका एम्बुलेन्स चालकले मात्र लिन पाउने छन् । साविककै भाडादर कायम रहने गरी कोभिडका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने गरी निर्णय गरिएको हो ।

बैठकमा सहभागी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकको समस्यालाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता लिन सक्ने गरी निर्णय गरिएको जानकारी दिए।

जोखमको असहज परिस्थितिलाई मध्यनगर गर्दै भएको सो निर्णयले एम्बुलेन्स चालकलाई ऊर्जा मिलेको एम्बुलेन्स चालक सङ्घका सचिव राजु मुक्तानले जानकारी दिए ।

समितिको यसअगावैको निर्णयअनुसार हेटौँडाबाट काठमाडौँ रु सात हजार ५००, हेटौँडाबाट चितवन रु तीन हजार, हेटौँडाबाट वीरगञ्ज रु दुई हजार, हेटौँडा बजार चार किल्लाभित्र रु ३०० र नगर बाहिर रु ३०० सहित प्रतिकिलोमिटर रु २५ मूल्य निर्धारण गरिएको थियो । यस जिल्लामा कूल ३१ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*